सुनकोसी न्यूज
चैत्र २ गते सोमबार
दुई वर्षभित्र काम सक्ने लक्ष्य, जोखिमयुक्त स्थानमा आरसिसी पर्खाल र दुई लेन सडक निर्माण
काठमाडौँ । पटक–पटकको बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको बिपी राजमार्गको स्थायी पुनर्निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ। पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्गका विभिन्न क्षतिग्रस्त सडकखण्डमा तीन स्थानबाट एकैसाथ निर्माण कार्य भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार जोखिमयुक्त स्थानमा आगामी वर्षायामअघि नै आवश्यक पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई तीव्र बनाइएको छ। “राजमार्गको वर्तमान कामको प्रगतिलाई हेर्दा दुई वर्षभित्र पुनर्निर्माण कार्य सम्पन्न हुने देखिन्छ,” उनले भने।
उनका अनुसार काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीनवटा सडकखण्डमा हालसम्म करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको छ। २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षाले थप क्षति पुर्याएपछि गत मङ्सिरदेखि प्रक्रिया पूरा गरी स्थायी पुनर्निर्माण सुरु गरिएको हो।
चारवटा क्षतिग्रस्त खण्डमध्ये बाँकी रहेको बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा पुनर्निर्माण गरिनेछ। सो खण्डको ठेक्का सम्झौता यसै महिनाभित्र हुने अपेक्षा गरिएको छ।
राजमार्गका विभिन्न जोखिमयुक्त स्थानमा आरसिसी पर्खाल निर्माण भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल निर्माण कार्य सुरु गरिएको छ। त्यस्तै चारसयबेँसी र भकुण्डेबेँसी क्षेत्रमा पनि आरसिसी पर्खाल लगाइँदैछ। डालाबेँसी, मङ्गलटार तथा चारसयबेँसी–नार्के खण्डमा सडक चौडा बनाउने कामसमेत जारी रहेको छ।
गत वर्ष र यस वर्षको बाढीले पूर्ण रूपमा बगाएको स्थानमा भविष्यमा बाढीले क्षति नपुर्याउने संरचना निर्माण गर्ने गरी डिजाइन गरिएको कार्यालयले जनाएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली खण्डका क्षतिग्रस्त भाग आगामी दुई वर्षभित्र पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ। पुनर्निर्माणसँगै राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिनेछ। साथै, पुलहरूलाई पनि दुई लेनमा विस्तार गर्ने योजना छ। पाँचवटा पुललाई दुई लेनमा परिणत गरिने तयारी भइरहेको योगेशले जानकारी दिए।
डालाबेँसीदेखि चारसयबेँसीसम्म ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले १ अर्ब ४२ करोड ३७ लाख रुपैयाँमा ठेक्का पाएको छ। चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्म ११.०८ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई १ अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको छ। नेपालथोकदेखि बर्खेखोलासम्म ४.९० किलोमिटर सडक खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले ६१ करोड रुपैयाँमा निर्माण गर्नेछ।
कुल २९.५ किलोमिटर क्षतिग्रस्त सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकका लागि जाइका मार्फत २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ।क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले कुल ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। यसमध्ये काभ्रेपलाञ्चोकका तीन सडकखण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुलीको एक खण्डका लागि १ अर्ब रुपैयाँ छुट्याइएको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट सुरु भएको धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो बिपी राजमार्गको निर्माण कार्य विभिन्न चरणमा सम्पन्न भएको थियो। उक्त राजमार्ग २०७२ असार १८ गते जापान सरकारले औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
यो राजमार्ग काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा प्रयोग हुँदै आएको छ।

















Add Comment