मुख्य समाचार समाचार

आज पनि हावाहुरीको चेतावनी

सुनकोसी न्यूज
चैत्र ३ गते, मंगलबार


कोशी–गण्डकीका पहाडी क्षेत्रमा चट्याङ, असिना र वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग ले आज पनि देशका विभिन्न स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार विशेषगरी अपराह्नपछि मौसम बदली भई हावाहुरीसँगै मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मौसमको प्रभाव बढी देखिन सक्ने बताइएको छ। स्थानीय स्तरमा विकसित हुने बादलका कारण अचानक मौसम खराब हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

यसअघि हिजो पनि देशका विभिन्न स्थानमा हावाहुरीसहित मेघगर्जन, चट्याङ र असिनासहित वर्षा भएको थियो। उक्त घटनाले केही क्षेत्रमा भौतिक तथा मानवीय क्षति पुर्‍याएको छ।

उदयपुर को कटारी–५ स्थित राधाकृष्ण मन्दिर नजिक हावाहुरीका कारण रुख ढलेर टिनको छाना भएको खाजा घरमा क्षति पुग्दा वीरेन्द्र चौधरीको मृत्यु भएको थियो। त्यस्तै, कटारी–८ मा मिनामाया तामाङको ज्यान गएको प्रहरीले जनाएको छ।

यस्तै, हावाहुरीकै कारण विभिन्न जिल्लामा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध भएको छ भने केही स्थानमा जनजीवनसमेत प्रभावित बनेको छ।


“अपराह्नपछि हावाहुरी, चट्याङ र असिनाको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दछौं,” विभागको आग्रह।

प्रकाशित मिति: मङ्लबार, चैत्र ३, २०८२

 

 

ताजा अपडेट