समाचार

राजनीतिक नियुक्ति फिर्ता लिन सरकारलाई प्रभु साहको आग्रह

सुनकोसी न्यूज
चैत्र २ गते, सोमबार

निर्वाचनपछि बहिर्गमनको चरणमा पुगेको सरकारले राजनीतिक नियुक्ति गर्नु सुशासनविरुद्ध : साह

काठमाडौँ । आम जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह ले सुशीला कार्की नेतृत्वको सरकारलाई हालै गरिएका राजनीतिक नियुक्ति सम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्।सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै उनले निर्वाचन सम्पन्न गराएर बहिर्गमनको चरणमा पुगेको सरकारले राजनीतिक नियुक्ति गर्नु सुशासन र पारदर्शिताको मर्मविपरीत भएको बताएका हुन्।

उनले जेनजी विद्रोहको जगमा बनेको सरकारले आफ्ना आसेपासेलाई राज्यका महत्त्वपूर्ण निकायमा नियुक्त गर्ने निर्णय गर्नु निन्दनीय र आपत्तिजनक भएको टिप्पणी गरे। निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएका गृहमन्त्री ओमप्रकाश अर्याल लाई मन्त्रिपरिषद्बाट राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गर्नु पनि लाजमर्दो विषय भएको उनको भनाइ छ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले आफ्ना प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ लाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्नु सुशासन र पारदर्शितामाथि गरिएको उपहास भएको साहले बताएका छन्। यसअघि पनि जेनजी आन्दोलनका शहीद परिवारको नाममा आफ्नै परिवारका सदस्यलाई जागिर खुवाएको आरोप लागेको स्मरण गर्दै उनले यस्तो निर्णयले आन्दोलनको मूल मर्ममाथि नै प्रहार गरेको उल्लेख गरेका छन्।

जेनजी आन्दोलनको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदन सार्वजनिक नगरी आफ्ना निकट व्यक्तिहरूलाई राज्यका निकायमा नियुक्त गर्न व्यस्त हुनु लज्जास्पद भएको साहको आरोप छ।

“निर्वाचन सम्पन्न गराएर बहिर्गमनको चरणमा पुगेको सरकारले राजनीतिक नियुक्ति गर्नु निन्दनीय र आपत्तिजनक हो,” अध्यक्ष साहले वक्तव्यमा उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्री कार्कीलाई ती दुवै निर्णय तत्काल फिर्ता लिन तथा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न जोडदार माग गरेका छन्।

प्रकाशित मिति: सोमवार, चैत्र २, २०८२

 

 

ताजा अपडेट