समाचार

इनिशा विक हत्या प्रकरणमा दोषीलाई कानुनी दायरामा ल्याइने गृहमन्त्रीको प्रतिबद्धता

सुनकोसी न्यूज
चैत १ गते, आइतबार

काठमाडौं । सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको हत्या प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता सरकारले जनाएको छ।

नेपाल दलित मुक्ति मोर्चाले घटनाको निष्पक्ष अनुसन्धान गर्न तथा दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गर्दै आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको हो। मोर्चाका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले मन्त्रालयमा पुगेर घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेको जनाएको छ।

मोर्चाले पीडित परिवारमाथि परेको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ। साथै घटनाको निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायलाई गम्भीरतापूर्वक पहल गर्न ध्यानाकर्षण गराएको छ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अर्यालले घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने उल्लेख गर्दै आपराधिक घटना नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीका साथ लागिरहेको बताए।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बसोबास गर्दै आएकी विक स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन्। उनीमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको आरोप लागेपछि उक्त घटनाले देशभर ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: आइतवार, चैत्र १, २०८२

 

 

ताजा अपडेट