समाचार हेडलाईन न्युज

केही दिनभित्रै विपि राजमार्ग खुलाइने

सुनकोसी न्युज
असाेज १७ गते बिहीबार, २०८१
सिन्धुली/सुनकोसी । बाढी र पहिरोले क्षतविक्षत विपि राजमार्गमा अस्थायी ट्रयाक र डाइभर्सन बनाएर केही दिनभित्र सवारी आवागमन सहज बनाउन सडक डिभिजन र सुनकोसी गाउँपालिकाका ५ वटा डाेजर संचालन गरिएको छ भने भक्तपुर सडक डिभिजनले काभ्रेको नमाेबुद्ध  साइडबाट मर्मत तिब्र बनाएको छ।

नेपालथाेक – मंगलटार खण्ड :

विपि राजमार्गकाे भकुण्डेबेसीदेखि नेपालथाेकसम्म सवारी संचालन पूर्णरूपमा बन्द भएको छ। नेपालथाेकदेखि खुर्काेट खण्डको सडकमा आएको पहिरो हटाएर सडक भत्किएको ठाउँमा डाइभर्सन बनाएर एकतर्फी सडक संचालन गरिएको पालिका अध्यक्ष दिपा दाहालले जानकारी दिनुभयो ।
राजमार्गमा पर्ने रोशीखोला र सुनकोशी नदीको बाढी तथा पहिरोले क्षतिग्रस्त खुर्कोट–नेपालथोक–धुलिखेल सडकखण्डको ८४ किलोमिटरमध्ये खुर्कोट नेपालथोकको ३४ किलोमिटरमा पहिरो पन्छाएर र डाइभर्सन बनाएर एकतर्फी सडक सञ्चालनमा आएको छ । पहिरो गएको दर्जनौँ स्थानमा एकतर्फी सडक खुलेको छ भने सुनकोशीले कटान गरेको ठाउँमा डाइभर्सन बनाइएको छ ।
नेपालथोकबाट अगाडि आँपघारीमा करिब ३ सय मिटर सडक नदी किनारमै अस्थायी ढंगले खुलाइने भएको छ ।आँपघारी अगाडि देवीस्थानमा २ सय मिटर बगाएको सडकलाई पनि रोशीलाई तर्काएर सडक खुलाउन लागेको साे क्षेत्रका संघीय सांसद राजन दाहालले बताउनुभयो ।


सडक डिभिजन कार्यालय खाल्टे र सुनकोशी गाउँपालिकाको एक्स्काभेटर, जेसीभी र डोजर गरी पाँच वटा मेसिनले काम गरिरहेका छन् । मेसिनका लागि चाहिने इन्धन, अप्रेटरको खाजा खाना र प्राविधिकको भने अभाव रहेको स्थानीयले बताए ।
ट्र्याक खुलेपछि काभ्रेको मंगलटारसम्म सवारी सञ्चालन हुने र उताबाट भकुण्डेबेसी हुँदै रोशी खोलासम्म सडक निर्माण भएको छ । बीचमा १० किलोमिटर क्षेत्रमा पनि सबै सडक बगाएको छैन । त्यहाँ बगाएको करिब डेढ किलोमिटर सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउन सेनालाई समेत परिचालित गरी स्थानीयलाई श्रमदानमा लगाउन सके अझ छिटो काम हुने ट्य्राक सडक निर्माणमा जुटेका स्थानीय उमेश कार्कीले बताए । बगाएको सडकमा ट्य्राक खोल्नुपर्ने हुन्छ । यो खण्ड ५० किलोमिटर छ ।
नेपालथोक देवीस्थानबाहेक यो खण्डमा ५ स्थानमा रोशीको बाढीले कालोपत्रेसहितको सडकमा पूर्ण क्षति गरेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ । सबैभन्दा बढी काभ्रेको चौकीडाँडा करिब आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ । यहाँ पनि काम सुरु भइसकेको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २०० मिटरभन्दा बढी सडक पूर्ण रूपमा क्षति भएको छ । थली बेसीमा पनि रोशी खोलाले २०० मिटर र नार्के पुलनजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ ।

नमाेबुद्ध – राेशी खण्ड दुई दिनभित्र संचालन गरिने :

रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रूपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ।
रोशी खोलाको बहाव सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन गर्ने गरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम शुरु गरेको हो। रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाइमा कटान गरेको छ।

सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहाव सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी निर्माण थालिएको बताए। ‘हिजोदेखि काम थालिसकेका छौँ, अब दुई दिनभित्र एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने गरी अस्थायी सडक बनाउने काम गर्नेछौँ’‚ उनले भने।

उनका अनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस–डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ। बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उनले बताए।

राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ। माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न सहज छैन।

सडक डिभिजन भक्तपुरले मङ्गलबारदेखि रोशीले सबैभन्दा बढी क्षति गरेको सडक १ नं पुलदेखि नेपालथोकसम्म मर्मत शुरु गरेको हो। पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेँसी सडक गत सोमबारदेखि नै एकतर्फी सञ्चालन गरिएको छ। भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजन भक्तपुरले जनाएको छ।

डिभिजनले काभ्रेतर्फबाट स्काभेटर लगायत चार उपकरण प्रयोग गरेको छ । जनकपुरबाट आएका पाँच उपकरणले मङ्गलटार र नार्केसम्म बाटो मर्मत गर्ने योजना रहेको डिभिजनले जनाएको छ।

प्रकाशित मिति: बिहिबार, अशोज १७, २०८१

 

 

ताजा अपडेट