विपि राजमार्गका अधिकांश शहर डुबानमा, उपत्यका जलमग्न, यातायात ठ
सुनकोसी न्युज
आश्विन १२ गते शनिबार, २०८१
तीन दिनदेखि परेको अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त बनाएको छ। वर्षाका कारण नदीहरूमा आएको बाढीले सडक, पुल र बस्तीहरू बगाउन थालेको छ। काठमाडौं उपत्यकामा बस्तीमा बाढी छिरेर घरहरू डुबानमा परेका छन् । विपि राजमार्गमा राेशी नदि र सुनकोसी नदीले ठूलो क्षति पुराएकाे स्थानीय उमेश कार्कीले बताएका छन् ।

अविरल वर्षासँगै सुनकोशी नदीमा आएको भिषण बाढीले सुनकोशी गाउँपालिका-५, मुलकोट बजारका घर, सडक, विद्यालय तथा रिसोर्टहरू डुबानमा परेका छन्।
शनिबार विहानदेखि नदीमा बाढीकाे सतह बढेपछि मुल्लकोट बजारमा रहेका क्वालीटी रिसोर्ट, ताज रिसोर्ट, होटल पौवा लगायत दर्ज नौ घर तथा होटलहरु डुबानमा परेका छन्। नदीको सतह मुलकाेटपारि रामेछाप जिल्लाको सित्खा बजारमा पुगेको छ। तर बाढीले उक्त स्थानमा मानवीय क्षती भने अहिलेसम्म नभएको इलाका प्रहरी कार्यालय खुर्काेटले जानकारी दिएको छ।ष
त्यसैगरी, सुनकोसी नदीमा आएको भिषण बाढीले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका-७ स्थित विपि राजमार्गमा पर्ने खुर्कोटको तल्लो बजारका घरहरू पूर्णरूपमा डुबानमा परेका छन्। नदिमा आएको बाढीले यहाँका ७० घर डुबानमा परेका छन् । बाढीले शसस्त्र प्रहरीको विपद व्यवस्थापन वेस सहित पसलहरु डुबानमा परेका हुन्। उद्वार कार्य भैरहेको इप्रका खुर्काेटले जानकारी दिएको छ।

शुक्रबारदेखि नदीले जल सतर्कता तह पार गरेकाले सुनकोशी नदीमा बाढी आउनसक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन र सावधानी अपनाउन आग्रह गरिएको सिन्धुलीका सिडिओ लिला प्रसाद शर्माले जानकारी दिए।
विपि राजमार्गमा क्षति

त्यसैगरी, अविरल वर्षाका कारण आएको बाढीले विपि राजमार्ग पूर्णरूपमा अबरुद्ध भएको छ। बिपि राजमार्गकाे नेपालथोक र आँपघारी खण्डको बाँदरेमा रोशी खोलाले करिब १०० मिटर जति सडक बगाएको छ। बाढीले सडक बगाएपछि उक्त स्थानबाट बस्तीमा समेत बाढीले क्षति पुराउन थालेको स्थानीयले बताएका छन् । त्यसैगरी, राजमार्गकाे माम्तीखाेला, कालापत्थरखाेला, दुम्जा लगायत खहरेमा आएको बाढीले विपि राजमार्ग थप क्षतिग्रस्त भएको छ जसका कारण शनिबार बिहानदेखि यातायात पूर्णरूपले अवरुद्ध रहेको छ।
बस्ती र खेतमा क्षति
सिन्धुलीको सुनकोसी गाउँ पालिका र गाेलञ्जाेर गाउँपालिकाका राजमार्ग छेउ रहेका बस्ती र खेतमा बाढी पसेर सयौं घरहरू डुबानमा परेका छन् भने सयौं बिघा खेतमा फूल्न लागेको धानबालीमा बाढी पसेको छ। भित्र्याउने बेला भएको खेतको धान बाढीले बगाएकोले किसानलाई थप चिन्तित बनाएको छ। मुलकाेट, खुर्काेट, झाँगाझाेली रातमाटा र नेपालथाेकमा बाढीले धानबाली सखाप बनाएको स्थानीय युवा विनोद दाहालले बताए । सिन्धुली जिल्ला सुनकोसी गाउँ पालिका -१ दुम्जा बेसीमा रहेको श्री कुशेश्वर महादेव मन्दिर प्रवेशद्वारमा रहेको घर पसलहरु रोसि खोलाले बगाएको छ। यसका साथै बाढीले वरपरका घर र खेतहरू पनि बगाएको छ।
उपत्यका जलमग्न

भिषण वर्षाले काठमाडौं उपत्यकाको जनजिवन अस्तव्यस्त बनाएको छ। उपत्यकाका सबै नदीहरूमा पानीको सतह अत्यधिक बढेपछि बाढी बस्ती र घरहरूमा पस्नथालेका छन् । बल्खुकाे तरकारी बजार लगायत स्थानमा बाढीले क्षति पुराएकाे सामाजिक सञ्जालबाट प्रसारण भइरहेको छ। त्यसैगरी कपनकाे मिलनचाेक खहरे, पेप्सीकाेला, टिकाथली, कुपोन्डोल लगायत लगभग सबै ठाउँमा बाढी र वर्षाले क्षति पुराएकाे छ। बागमती, विष्णुमती, हनुमन्ते, धाेविखाेला, मनाेहरा लगायत नदीकाे सतह बढेर सडक र बस्तीमा पसेको छ। बागमती नदीले युएन पार्कनजिक रहेको झाेलुङ्गे पुल बगाएको छ। टिकाथली लगायत कतिपय स्थानमा विजुली प्रवाहमा अपराेध भएको छ।
बाढीले अबरुद्ध भएका राजमार्ग
१. काठमाडौं – चितवन सडक: बन्द
२.काठमाडौं -सिन्धुली-बर्दिबास सडक: बन्द
३. मुग्लिङ – पोखरा सडक: बन्द
४. चितवन – बुटवल सडक: बन्द
५. काभ्रे – दोलखा सडक: बन्द
६. बेनी – मुस्ताङ सडक: बन्द
७. कैलाली – बझाङ बाजुरा सडक: बन्द
८. झापा – ईलाम सडक: बन्द
(स्राेत : सामाजिक संजाल)
कुलेखानी ड्याम खतरामा

अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसराेवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत आयोजनाको जलाशय ड्याम भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ । ३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको आयोजनाले बताएको छ।
यसअघि २०५० सालमा आएको भिषण वर्षाले भरिएपछि ढोका खोलिएको थियो । ड्यामबाट निस्केको पानीले मकवानपुरको सिस्नेरी डोढारे , कोगटे खोला दोभान इपा बेसी , माल्टा बेसी, फाप्लाङ्ग बेसी, बगुवा बेसी , ठिंगन बेसी , घयाटार बेसी , प्युटार बेसी , लुक्ने बेसी, मंथली बेतिनी , फापरबारी राईगाँउ , हरिहरिपुरगढी सिन्धुली , रौतहट र सर्लाहीका नदी आसपासका बस्तीमा क्षति पुराउन सक्ने हुँदा सावधानी अपनाउन सूचना गरिएको मकवानपुरका प्रजिअले जानकारी दिए।
त्यसैगरी, वर्षाका कारण पृथ्वी राजमार्गमा आएको पहिरोले धादिङमा एउटा बस र दुईवटा कार पुरेको छ भने मानवीय क्षति भएको छैन । पुर्नुअघि नै यात्रु सवारी साधनबाट निस्केको इप्रका गजुरीले जानकारी दियो ।
भिषण वर्षाका कारण काभ्रेको तिमाल गाउँ पालिकामा पहिरोमा परि दुईजनाको ज्यान गएको छ । तेमाल गाउँपालिका-७ का भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र उनकी बहिनी ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो।
Add Comment