समाचार हेडलाईन न्युज

त्रिशूली अपडेट : ५ काे शव भेटियो, बस अझै भेटिएन

सुनकोसी न्युज
असार ३०, आइतबार,२०८१
काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुईवटा यात्रुबाहक बस दुई दिन लगातार खोज्दा पनि भेटिएको छैन।

हालसम्म विभिन्न स्थानमा ५ जनाको शव भेटिएकाे छ जसमा ३ जनाको सनाखत भएको छ भने २ जनाकाे सनाखत हुन नसकेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन् । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार  सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो ।

गौरको गणपति बसमा चलानमा भएबमाेजिम २७ जजा यात्रुका आफन्त सम्पर्कमा आएका छन् । उनीहरूले दिएको विवरण अनुसार गाडीकाे काउन्टरले काटेको चलानमा लेखिएका बाहेक थप ११ यात्रु समेत रहेका थिए । गाडीमा कुल ३८ जना यात्रु रहेको आफन्तले जानकारी दिए ।

चलान बमोजिम एन्जल बसमा २३ जना यात्री थिए । तर पछि यात्रुका आफन्त सम्पर्कमा आइ दिएको विवरण अनुसार ४ जना अरु पनि यात्री रहेको जानकारी प्राप्त भएको छ। यसरी एञ्जल बसमा कुल २७ यात्रु रहेको देखिन्छ । यसरी कुल यात्रु संख्या ६५ जना रहेको देखिन्छ । जसमध्ये सकुशल रहेका ३ जनाकाे उपचार भइरहेको छ।

त्रिशूलीमा खसेकका दुईवटा बस शुक्रबार र शनिबार दिनभरि खोजी गर्दा पनि फेला पार्न नसकिएको प्रजिअ यादवले बताए । खोजी कार्यका लागि गोताखोरसहितत सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।

खाेज्नेक्रममा शनिबार बिहान सिमलतालभन्दा ५० किलोमिटर तल गोलाघाटमा एउटा शव फेला परेको थियो भने दिउँसो पूर्वी नवलपरासीको गैँडाकोटस्थित नारायणी नदी किनारमा दुईवटा शव फेला परेका थिए।

फेला परेका तीनमध्ये दुईवटा शव आफन्तको सहयोगमा सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं डीएसपी भेषराज रिजालले बताए ।

डीएसपी रिजालका अनुसार बस र लासहरु नभेटिउन्जेल बिहानैबाट फेरि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य सुरु गर्नेछन्।

सकेजति सबै उपकरण प्रयोग गरेर खोजी कार्य जारी राख्दा पनि बस फेला पार्न नसकेपछि उद्धारमा खटिएका सुरक्षाकर्मी निराश भएका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी गरिएको थियो।

सशस्त्र डीएसपी थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण (चितवन) बाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ३५ जनाको सुरक्षा फौज खोजी परिचालन गरिएको छ।
साथै नेपाली सेना र नेपाल प्रहरी पनि खोजीमा जुटेका छन्।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा ३८ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ।
उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्।

प्रकाशित मिति: आइतवार, असार ३१, २०८१

 

 

ताजा अपडेट