समाचार हेडलाईन न्युज

राष्ट्रपति पाैडेल विवादमा, धारा ७६(2) काे प्रयोग असंवैधानिक

सुनकोसी न्युज
असार २९ गते शनिबार,२०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानको धारा ७६(२) अनुसारको सरकार गठनका लागि आव्हान गरेर विवादमा तानिएका छन् ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा संविधानको धारा ७६(२) अनुसारको सरकारले विश्वासको मत नपाएपछि स्वत: उपधारा ३ अनुसारको सरकार गठन गर्न आव्हान गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था हुदाहुदै त्यसलाई मिचेर राष्ट्रपतिले धारा ७६(२) अनुसारकै सरकार गठन गर्न आव्हान गर्नु संविधानविपरित भएको संविधानविद् बलराम केसीले बताउनुभयो ।
संविधानकाे धारा ७६(२) अनुसार बनेको सरकारले विश्वासको मत पाउन नसकेको अवस्थामा धारा ७६(३) अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाउने र उसले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने स्पष्ट व्यवस्था रहेकाे छ।
तर शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बहुमत सांसदको विश्वासको मत प्राप्त गर्ननसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनको लागि धारा ७६(३) अनुसार सरकार गठनकाे लागि आव्हान गर्नुपर्नेमा धारा ७६(२) अनुसारनै आव्हान गरेपछि उनी विवादित बनेका हुन्।
राष्ट्रपतिका सामु दुईवटा विकल्प स्पष्ट रूपमा उभिएका थिए । पहिलो, संविधान अनुसार धारा ७६(३) अनुसार सरकार आव्हान गर्ने, ठूलो दलको हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने । यसले राष्ट्रपतिले बुढेसकालमा संविधान पूर्णरूपमा पालना गरेको जस स्थापित हुनेथियो । आफ्नो पार्टीको नेतृत्वमा सरकार हुनेथियो । प्रचण्डले राष्ट्रपति बनाएको गुण पनि तिरिने थियोे । अब धारा ७६(२) अनुसारको सरकार गठनका लागि आव्हान गरेर इतिहासमा आफ्नो अनुहारमा मैलो पाेतेका छन् । आफ्नो माउ पार्टी सम्मिलित गठबन्धनको आदेशमा संविधानबिपरित आदेश जारी गरेर यसअघि राष्ट्रपत रामबरण यादवले गरेको विवादास्पद निर्णयको अवस्थामा पुगेका छन् । उनलेे आफूलाई संविधानको संरक्षकका रूपमा प्रमाणित गर्न नसकेको आराेप लागेको छ। एमाले कांग्रेस गठबन्धनले केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरेको छ।
गत पुसमा एमालेसहितकाे समर्थनमा निर्माण भएको प्रचण्ड सरकारलाई एकाएक एमालेले धाेका दिएर नेपाली कांग्रेसको समर्थनमा ओली आफैं प्रधानमन्त्री बन्ने दाैडमा लागेपछि बनेको गठबन्धनले एकाएक नेपाली राजनीतिमा नयाँ तरङ्ग सिर्जना भएको छ।
शुक्रबार सदनसमक्ष आफ्नो कुरा राख्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले एकपछि अर्को ठूला भ्रष्टाचारका फाइल खाेलेर कुनै पनि प्राेफाइलका भ्रष्टाचारीलाई नछाडेकाे र नछाड्ने देखेपछि कांग्रेस एमालेका भ्रष्टाचारीलाई जाेगाउन यो सरकारको बिरुद्ध नयाँ गठबन्धन रातारात बनाइएको स्पष्ट पारेका छन् । सरकारले त्रिभुवन विश्वविद्यालयदेखि वालमन्दिर, बाँसबारी, गिरिबन्धु टि स्टेट लगायतका जग्गा घाेटाला, भुटानी सरणार्थी काण्ड, सुन काण्ड, टेरामक्स घाेटाला, ओम्नी यति घाेटाला लगायतका भ्रष्टाचारका फाइलमा भटाभट कारबाही सुरु गरेपछि भ्रष्टाचारीलाई संरक्षण गर्नेहरूको समेत साताे गएको र सरकार ढाल्ने षड्यन्त्रमा लागेको उनले बताए । केही मिडियाका मालिक र व्यापारी समेत यो नयाँ अप्राकृतिक गठबन्धनको शुत्रधार रहेको उनको भनाइ छ।
मुलुकका सबै भ्रष्टहरु सरकारबिरुद्ध एकजुट भएको अवस्थामा परिवर्तनका उपलब्धिलाई समेत समाप्त पार्न संविधान संसाेधन गर्ने समेतको सहमति भएको चर्चा रहेको छ। यद्यपि सात बुंदा रहेको भनिएको उक्त नयाँ गठबन्धनको सहमति भने अझै सार्वजनिक भएको छैन ।
राष्ट्रपतिले आव्हान गरेअनुसार धारा ७६(२) अनुसारको सरकार गठन भए यो मुद्दा अदालत जाने र अदालत समेत राजनीतिक प्रभावमा परेर गलत निर्णयमा गए जनता जनआन्दोलनको उपलब्धिलाई रक्षा गर्न निर्णायक आन्दोलनमा समेत जाने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८१

 

 

ताजा अपडेट