समाचार हेडलाईन न्युज

चुनाव नराेक्न पत्रकार संगठनहरूको चेतावनी,चुनावबारे पूर्व अध्यक्षहरूकाे चिन्ता

सुनकोसी न्युज
असार १६ गते आइतबार, २०८१
काठमाडौं । आइतबार सांझ पत्रकार महासंघका अध्यक्ष, महासचिव लगायत पदाधिकारीसँग विभिन्न पत्रकार सम्बद्ध संगठनका पदाधिकारीले वार्ता गरेका छन् ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा जुगल, प्रेस चाैतारिका अध्यक्ष गणेश बस्नेतलगायत विभिन्न संगठनका अध्यक्षले पत्रकार महासंघका अध्यक्ष विपुल पाेखरेलसँग महासंघको केन्द्रीय कार्यालय संचारग्राममा वार्ता गरेको हाे।

वार्तामा कुनै पनि बहानामा महासंघको चुनाव राेक्नु दुर्भाग्यपूर्ण हुने र जसरी पनि ताेकिएकाे समयमा चुनाव सम्पन्न गर्न महासंघका अध्यक्ष विपुल पाेखरेललाई दबाब दिएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले बताए । समयमा चुनाव हुन नलिएर त्यसबाट उत्पन्न हुने परिणामको भागिदार स्वयम् पाेखरेल र तालाबन्दी गर्ने पक्ष हुने जुगलले चेतावनी दिएका छन् ।

त्यसैगरी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरूले महासंघको चुनावी प्रक्रिया अवरुद्ध भएको प्रति चिन्ता व्यक्त गरेका छन् । पूर्व अध्यक्षहरूकाे एक भेलाले नेपाल पत्रकार महासंघ पत्रकारको हकहित रक्षाकाे लागि निरन्तर काम गर्ने एक अविच्चिन्न साझा संस्था रहेको र यसको गरिमामा कुनै अमुक राजनीतिक दलसँग सम्बन्धित पत्रकारको संगठनका कारण अनिर्णयको बन्दी बनाउनु दुर्भाग्यपूर्ण हुने निस्कर्ष निकालेको छ।

सबै पक्ष यसमा संवेदनशील हुनुपर्ने बताउदै आवश्यक परे सहयोग गर्न तयार रहेको समेत बताएका छन् । महासंघको नेतृत्व आफ्नो कर्तव्यबाट बिमुख भए राजनीतिक दल र सरकार संलग्न हुने अवस्था आउने स्थिति बन्न दिनुहुँदैन भन्ने निस्कर्ष उनीहरूको रहेको छ। पत्रकार महासंघलाई यो कलंककाे टीका लगाउनबाट बचाउन सबै सराेकारवाला मिलेर काम गर्नुपर्ने भन्दै एक विज्ञप्ति जारी गरेका छन् ।

नेपाल पत्रकार महासंघका पूर्व सभापति र अध्यक्षहरूको वक्तव्य
(१) नेपाली पत्रकारहरूको साझा र भरोसायोग्य संस्था नेपाल पत्रकार महासंघभित्र पछिल्लो केही दिनयताका काम–कारबाही र गतिविधिप्रति महासंघका हामी पूर्व सभापति र पूर्व अध्यक्षहरू गम्भीर चिन्ता, चासो र सरोकार व्यक्त गर्दछौं ।
(२) लोकतन्त्रको जगेर्ना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको हितमा विभिन्न कालखण्डमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको नेपालको अगुवा नागरिक संस्था समेत रहेको महासंघको केन्द्रीय कार्यालय र जिल्ला तथा प्रदेश कार्यालयहरूमा तालाबन्दी र हुलहुज्जत हुनुलाई हामी दुर्भाग्यपूर्ण र आपत्तिजनक कार्य मान्दछौं ।
(३) महासंघको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यता लगायत विवादको समाधान महासंघको वैधानिक संरचना मार्फत खोज्ने परम्परा अवलम्बन गर्दै विवाद हल गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासंघका अध्यक्ष सहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदछौं । महासंघको साख र मर्यादा कायम गर्न पूर्व सभापति र अध्यक्षहरू आवश्यक सहजीकरण गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
(४) नेपाल पत्रकार महासंघका सदस्यहरूले गर्ने आन्तरिक लोकतन्त्रको अभ्यासमा समस्या देखिएको बहानामा सरकार र राजनीतिक दलहरूले गर्न सक्ने हस्तक्षेप र राख्न सक्ने प्रभावका सम्बन्धमा गम्भीर बन्न महासंघका सदस्यहरूमा हामी अपील गर्दछौं ।
१ किशोर नेपाल
२ सुरेश आचार्य
३ तारानाथ दाहाल
४ विष्णु निष्ठुरी
५ शिव गाउँले

प्रकाशित मिति: आइतवार, असार १७, २०८१

 

 

ताजा अपडेट