विदेश समाचार हेडलाईन न्युज

नेपाललाई युक्रेन बन्नबाट प्रचण्डले जोगाइराख्नुभएको छ : महासचिव गुरुङ

सुनकोसी न्युज
आश्विन २९ गते साेमबार, २०८०
बेलायत । माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवाद स्थापना गर्नका लागि पार्टीले तीन महिने जनतासँग विशेष रुपान्तरण अभियान थालेको बताउनुभयो । जनप्रगतिशील मञ्चद्वारा बेलायतस्थित अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाँडपर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले समाजवाद स्थापनाका लागि दुईवटा गौडा रहेको र पहिलो गौडा जनयुद्धको बलमा सामन्तवादी निरंकुश सत्ता फ्याँकेर जनताको सत्ता ल्याएपछि पुरा भएको जिकिर गर्नुभयो । `तीन महिने पार्टीको अभियान किन त? यसका पछाडि तीनवटा कारण छन् । पहिलो नेपालको राष्ट्रिय राजनीतिमा समाजवादी क्रान्तिको विकल्प छैन । अथवा समाजवादी सत्ता स्थापना गर्नुको विकल्प छैन । त्यसका लागि हामीले दुईवटा गौडा पार गर्नुपर्छ । पहिलो सामन्तवादको नेतृत्व गरिरहेको राजतन्त्र फ्याँकेर एउटा गौडा पार गरिएको छ । दोस्रो गौडा भनेको बाँकी छ । त्यो भनेको विदेशीको थिचोमिचो,´ महासचिव गुरुङले भन्नुभयो,` समाजवादी क्रान्तिका लागि विदेशीको थिचोमिचोका गम्भीर चुनौती हो । यो समस्या नपञ्छाइकन समाजवादी क्रान्ति सम्भव छैन ।´

उहाँले माओवादी जनयुद्धले सामन्तवादीहरुको निरंकुश सत्ता फ्याँके पनि समाजवादका लक्ष्यमा जानका लागि आधारभूत रूपमा नै बाँकी रहेको बताउनुभयो । सम्पूर्ण कम्युनिस्ट शक्ति, देशभक्त तथा गणतन्त्रवादीलाई एकीकृत गरेर मात्रै समाजवाद तर्फ जान सकिने पनि महासचिव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,` समाजवादी लक्ष्य पूरा गर्नका लागि सम्पूर्ण कम्युनिस्टहरू, देशभक्त तथा गणतन्त्रवादीहरू मिल्नुको विकल्प छैन तर त्यसभन्दा पहिला मेचीदेखि महाकालीसम्मका समाजलाई एकताबद्ध गर्न जरुरी छ ।´

उत्पीडित जाती, क्षेत्र, समुदाय लगायतको मुक्ति विना समाजवादमा जान नसकिने र त्यसको मुक्ति दिने काम माओवादीले मात्रै गर्ने पनि दाबी गर्नुभयो ।

उत्पीडितहरुको पहिचानको रक्षा गर्ने काम माओवादीले मात्रै गर्ने बताउनुभयो । उहाँले राष्ट्रिय एकता विना समाजवादी क्रान्ति सम्भव नभएको पनि दोहोर्‍याउनुभयो ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले निर्ममतापूर्वक भ्रष्टाचार विरोधी अभियान चालेको बताउनुभयो । उहाँले विदेशी शक्तिकेन्द्रले प्रचण्ड नेतृत्वको सरकार र यस सरकारले गरेको जनपक्षीय कामलाई पचाउन नसकेको पनि बताउनुभयो । भ्रष्टाचार विरोधी अभियान सरकारले सुरु गर्दा जन समर्थनले मात्रै टिकेको पनि बताउनुभयो । ` भ्रष्टाचार विरोधी अभियान सुरु गरेकाले धेरैलाई पचेको छैन । जनताको व्यापक समर्थनले मात्रै प्रचण्ड सरकार टिकेको छ । यो सरकार कुनै पनि हालतमा टिकाउनु छ,´ उहाँले भन्नुभयो,`भ्रष्टाचार विरोधी अभियानमा जनतालाई ठीक ढंगले सम्प्रेषण गर्न सकियो भने जनताले साथ दिन्छन् । जनताको साथ र समर्थनले तेस्रो दल, सानो दल भएको भएता पनि ठूला दलहरूलाई कुनै न कुनै रूपमा मिलाउँदै मिलाउँदै, राष्ट्रिय सहमति भन्दै भन्दै अहिले मुलुकको नेतृत्व गरिरहेका छौं ।´

यतिबेला माओवादीले देशको नेतृत्व नगरेको हुन्थ्यो भने विदेशी सेनाले देशमा परेड खेल्ने ठाउँ बन्ने पनि जिकिर गर्नुभयो । `तेस्रो दल भए पनि अहिले मुलुककै नेतृत्व गर्ने अभिभावकीय जिम्मेवारीमा माओवादी छ । मुलुकको अगुवाइ माओवादीले गरिरहेको छ । यतिखेर माओवादीले यो भूमिका नखेलेको हुँदो हो त यतिखेर नेपालमा बिदेशी सेनाले परेड खेल्ने ठाउँ बन्थ्यो । यतिखेर नेपाल विगतको अफगानिस्तान जस्तो द्वन्द्वग्रस्त क्षेत्र बन्थ्यो । माओवादीले पहल नगरेको भए नेपाल यतिबेला युक्रेन बनिसक्थ्यो । यो अवस्थाबाट बचाएर ल्याउने काम माओवादी केन्द्रको नेतृत्वले गरिरहेको छ,´ महासचिव गुरुङले भन्नुभयो,`अहिले माओवादी प्रति जन विश्वास बढेर गएको छ । नेपालदेखि विदेशसम्म पार्टी प्रवेशको लहर चलिरहेको छ । यो जनलहरको एकताले देशको रक्षा गर्नेछ । यसले नेपालको पुँजीवादी गणतन्त्रलाई जनताको समाजवादी गणतन्त्र स्थापना गर्न होस्टेमा हैसे पुग्नेछ । मद्दत पुग्नेछ ।´

प्रकाशित मिति: सोमवार, अशोज २९, २०८०