समाचार हेडलाईन न्युज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई देशसँग जोडियो, पहिलो उडान यात्रु विहिन

सुनकोशी न्यूज
भदौ १२ मंगलबार, २०८०
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले हङकङ र नयाँ दिल्लीसँग हवाई उडानमा जोडिएको छ । नेपाल वायुसेवा निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर यी दुई गन्तव्यका लागि उडान सुरु गरेको हो ।

मलेसियाको कोललाम्पुरबाट आएको निगमको जहाज मंगलबार भैरहवा अवतरण गरेको थियो । जहाजले हङकङ र नयाँ दिल्ली जान टिकट काटेका यात्रुलाई काठमाडौं ल्याउने र काठमाडौं ट्रान्जिट गराई सम्बन्धित गन्तव्य लैजाने निगमको योजना छ ।आइतबारदेखि मात्र टिकट बुकिङ खुला गरेका कारण मंगलबारको उडानमा यी दुवै गन्तव्यमा जाने यात्रु भैरहवाबाट भने नचढेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

भैरहवाबाट काठमाडौं आउँदा कोललाम्पुरबाट काठमाडौं आउन चढेका यात्रु मात्र सो जहाजमा आएका थिए । निगमले हरेक मंगलबार भैरहवाबाट हङकङ र नयाँ दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर ट्रान्जिट गराई ती गन्तव्यमा जाने यात्रुलाई लैजाने योजना बनाएको छ ।

यस योजना अनुसार यात्रुले भैरहवाबाटै हङकङ वा नयाँ दिल्लीसम्मको बोर्डिङ पास पाउँछन् । ब्यागेज समेत सम्बन्धित गन्तव्यमै पुग्ने भएकाले काठमाडौंमा उनीहरुले थप प्रक्रिया भने पार गर्नु पर्दैन । यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी निगमको टिकट किन्न सक्ने छन् । यसअघि निगमले कोललाम्पुर भैरहवासँग जोडेर नियमित उडान गरिरहेको छ ।

निगमको उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंमा अवतरण गर्ने छ । ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दा नै गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ १२, २०८०