शिक्षा/स्वास्थ्य समाचार स्थानीय हेडलाईन न्युज

मरिणले दियो छात्रालाई साइकल र प्राेत्साहन रकम

सुनकोसी न्युज
जेठ ११ गते बिहीबार, २०८०
मरिण। मरिण गाउँपालिकाले कक्षा ११ मा अध्ययनरत १६० छात्रालाई साइकल वितरण गरेको छ। मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको हाे। गत शनिबार पालिकाले एक कार्यक्रमकाे आयोजना गरेर खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरेको छ।

मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राखेका मरिण–२ सिर्थौलीका सुब्बा सिंह अब साइकलमा आउजाउ गराउने सोचमा छन्। घरबाट विद्यालय पदैल आउजाउ गर्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राख्नुपरेको थियोे।

पालिकाले दिइएको साइकलले छोरीमात्रै होइन, अभिभावक पनि खुसी छन्। “छोरीसित साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो । पढेर छोरीले साइकल पाइन् भनेर हामीलाई पनि हर्ष भयो”, सिंहले भने।

मरिणले गरेको कार्यको उनले प्रशंसासमेत गरे। मरिणले जस्तै अरु पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उनको सुझाव छ। साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उनको धारणा छ।

त्यसैगरी, मरिणले विवाहपूर्व स्नातक उतिर्ण गर्ने छात्रालाई रू. १ लाख प्राेत्साहन रकम दिएको छ।

यस्ता कार्यक्रमले ग्रामीण भेगमा शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पसका प्रमुख खेमहरि बराल बताउँछन्। उच्च शिक्षामा महिलाको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए।

पालिकाकाे आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिका अध्यक्ष विर्मश मोक्तानले बताए। उनले स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो ट्र्याक ओपन गरेको र  त्यसलाई क्रमशः स्तरोन्नति गर्दैै लगिने जानकारी दिए।

छात्राले एसइई दिएपछि पढाइ छाड्ने र सानै उमेरमा विवाह गर्ने भएकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मोक्तानले बताए।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ११, २०८०