समाचार हेडलाईन न्युज

प्रेस सेन्टर नेपालकाे साधारणसभा जेठ १३/१४ गते साँखुमा हुने

सुनकोसी न्युज
जेठ ९ गते मंगलबार, २०८०
काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्नो १९ आैं साधारणसभा काठमाडौंमा गर्ने भएको छ। २१ आैं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसर पारेर सेन्टरले आफ्नो साधारणसभा गर्न लागेको हाे।

साधारणसभा काठमाडौंको ऐतिहासिक शहर शंखरापुर नगरपालिकाको साँखुस्थित साक्व रिसोर्टमा हुने सेन्टरका अध्यक्ष बिष्णु सापकोटा जुगलले बताए।

करिब दुई सय केन्द्रीय सदस्य र पदाधिकारी, सल्लाहकार, नीति परामर्श समिति सदस्य, अनुशासन समितिका सदस्य, लेखा समिति सल्लाह, प्रदेश पदाधिकारी, सल्लाहकार र जिल्ला अध्यक्षहरू समेत लगभग ७ सय प्रतिनिधिक साधारणसभामा सहभागी रहने महासचिव सन्तोष पाैडेलले जानकारी दिए।

नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रममा शंखरापुरकाे समग्र विकासको योजना समेत पेस गरिने कार्यक्रम रहेको स्थानीय शंकर दुलाल बताउँछन् । अहिलेसम्म सबै राष्ट्रिय स्तरका कार्यक्रम काठमाडौंका भित्री सुगम स्थानमा हुने परम्परा ताेडेर प्रेस सेन्टरले काठमाडौंको काेल्टाे पल्लो कुनामा रहेको सानो ठाउँमा देशैभरिका हजारौं पत्रकार सहभागी हुने कार्यक्रम पहिलोपटक गर्न लागेको बताउदै दुलालले यो कार्यक्रममार्फत अन्य संघसंस्थालाई पनि नयाँ सन्देश दिन सकिने बताए ।
सेन्टरका आठवटा भूगोल र तीनवटा गैरभूगाेल गरेर ११ वटा प्रदेश कमिटि रहेका छन् भने ९२ भन्दा बढी जिल्ला कमिटि रहेका छन् । माओवादी पार्टीको शुभेच्छुक संगठनका रूपमा रहेको सेन्टर श्रमजीवी र स्वराेजगारमुलक मिडियाको मसिहाकाे रूपमा रहेको संस्थापक अध्यक्ष तथा वर्तमान इन्चार्ज महेश्वर दाहाल बताउछन् ।
नेपालकाे राजनीतिक परिवर्तनमा यो संगठनले अग्रणी भूमिका खेलेको माओवादी प्रवक्ता तथा प्रकाशन विभाग प्रमुख कृष्णबहादुर महरा बताउछन् ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ९, २०८०