समाचार

गाईभैंसीको दूध भन्दै पाउडरमा पानी हालेर बेच्दै

दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरेकाे पाइएपछि संयुक्त बजार अनुगमन संयन्त्रले सिलबन्दी गरेको अधिकारीहरुले बताएका छन् ।

सिलबन्दी भएका अधिकांश डेरी उद्योगमा गाईभैंसीको सट्टा प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको पाइएको छ । कतिपयको डेरी उद्योगमा नेपाल सरकारले तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको र दुर्गन्धित रूपमा फेला परेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंहका अनुसार डेरी उद्योगीहरूलाई बारम्बार डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिए पनि अटेर गरेकाले सिलबन्दी गरेको बताए ।

अनुगमनमा युरिया मल, चिनी, मानव जीवनको स्वास्थ्यसँग प्रत्यक्ष असर गर्ने पाउडर दूधको प्रयोग, मापदण्डविपरीत, अत्यधिक फोहर मैलाजस्ता थुप्रै लापरवाही देखिएको उनले बताए । सिरहामा यस्ता ४५ वटा दूध डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । तीमध्ये कतिपयको कागजपत्र छैनन् भने कतिपयको मापदण्डविपरीत सञ्चालित छन् ।

अनाधिकृत रूपमा दर्जनौंको संख्यामा अवैध ढंगले डेरी उद्योग सञ्चालन भइरहेका छन् । सम्भवतः ५० प्रतिशत डेरी उद्योग मापदण्डविपरीत सञ्चालन भएको हुनसक्ने जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत कमल आचार्यले जानकारी दिए ।

अनियमित ढंगले सञ्चालन गरिरहेका डेरी उद्योगलाई कानुनी दायरामा ल्याउन तथा मानवीय रूपमा अखाद्य उपभोग्य वस्तु तयार गरी बिक्रीवितरण गर्नबाट रोक्न अनुगमनको थालनी गरिएको छ ।

दुई दिनसम्म चलेको संयुक्त सिरहा बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत कमल आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका सुरेशकुमार सिंह, घरेलु कार्यालय लहानका काजीमान लिम्बु, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका रामानन्दप्रसाद गुप्तालगायत थिए ।

प्रकाशित मिति: आइतवार, भदौ ८, २०७६