समाचार

अध्यक्ष प्रचण्डले पहिलोपटक बोलाए सचिवालय बैठक

सुनकोशी न्यूज,
काठमाडौँ । पार्टी एकीकरणको १५ महिनापछि कार्यकारी अधिकार पाएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाएका छन् ।  तत्कालीन एमाले र माओवादीबीच २०७५ जेठ ३ गते पार्टी एकता हुँदा दुवै अध्यक्षले पालैपालो वैठकको अध्यक्षता गर्ने सहमति भएपनि प्रचण्डले त्यस्तो अवसर पाएका थिएनन् ।

 अहिले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली उपचारको शिलशिलामा सिंगापुर छन् । प्रधानमन्त्री उपचारका लागि भदौ ५ गते सिंगापुर जानुभन्दा केही घण्टा अगाडि त्यसै दिन बसेको नेकपाको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसि सांगठनिक एकता र अन्य निर्णयहरू गर्ने सहमति भएको थियो । सोही निर्णय अनुसार प्रचण्डले सोमबार बैठक बोलाएका हुन् ।

बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । नेकपामा यसअघिका सचिवालय बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै आएको थियो । सोमबार बस्ने सचिवालय पार्टी कार्यालयमा पहिलो पटक बस्न लागेको हो ।

भोली बस्ने बैठकले महानगर कमिटीका पदाधिकारी, प्रवास र केही आयोगका प्रमुख उपप्रमुख टुंग्याउने भएको छ । पार्टीमा कार्यकारी अधिकार पाएसँगै अध्यक्ष प्रचण्डले अन्य तहका नेताहरुसँग पनि भेटघाट र छलफल गरेका छन् । आईतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले दुई अध्यक्ष मिलेर अगाडि बढ्न सुझाएकी छन् ।

यस्तै वरियता घटुवामा परेर असन्तुष्ट बनेका वरिष्ठ नेता माधवकुमार नेपालसँग शुक्रबार आफ्नै निवास खुमलटारमा भेटवार्ता गरेका थिए । यस्तै भदौ १ गते बसेको सचिवालय बैठकले हालसम्म तेस्रो वरियतामा रहेका नेता नेपाललाई चौँथो वरियता र चौथो वरियतामा रहेका नेता झलनाथ खनाललाई तेस्रो वरियतामा ल्याउने निर्णय गरेको थियो । सो निर्णयसँगै नेता नेपाल असन्तुष्ट बनेका छन् । उनले आफ्ना असन्तुष्टि लिखितरुपमै सचिवालयमा दर्ज समेत गराइसकेका छन् ।

नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने निर्णय गरेसँगै नेता नेपालले तत्कालीन एमालेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावललाई पनि सचिवालयमा ल्याउनुपर्ने माग पनि गरेका छन् । तर, नेता नेपालको मागलाई अर्का अध्यक्ष ओलीले ठाडै अस्वीकार गरिदिएका थिए ।

प्रकाशित मिति: आइतवार, भदौ ८, २०७६