समाचार

सिन्धुलीमा रंगशाला बन्दै : सांसद गजुरेलद्वारा सिलान्यास

सुनकोशी न्युज, २०७६ भाद्र ७ शनिबार २ः२७ बजे

सिन्धुली । सिन्धुलीमा खेलकुद रंगशाला बन्ने भएको छ । आज एक कार्यक्रमबीच नेकपा स्थायी कमिटि सदस्य तथा पूर्ब कृषिमन्त्री सिन्धुली जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का माननीय सांसद हरिबोल प्रसाद गजुरेलले रंगशालाको सिलान्यास गर्नुभयो ।

खेललाई विकाससँग जोड्न प्रदेश नं ३ सरकारको सामाजिक बिकास मन्त्रालयले ‘एक जिल्ला एक रङगशाला’ निर्माण गर्ने नीति बनाएको छ । सोही नीति अन्तर्गत सिन्धुली जिल्ला कमलामाई नगरपालिका, वडा नं. ५, कालीमाटीमा खेलकुद रंगशाला निर्माण हुने भएको हो ।

रंगशालाको सिलान्यास गर्दै कार्यक्रमका प्रमुख अतिथि गजुरेलले सिन्धुलीमा ढिलै भएपनि बन्न लागेको रंगशालाले सिन्धुलीमा पनि राष्ट्रिय–अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी प्रतिभाहरु जन्माउन सक्ने बताउनु भयो ।

रंगशालाको लम्बाई १०० मिटर र चौडाई ६० मिटर रहने छ । जसमा १५०० दर्शकले एकैसाथ रंगशालामा बसेर खेलको हेर्न सक्नेछन् । मैदानसँगै लगभग ५०० सवारीसाधन पार्किङ गर्न सक्ने पार्किङस्थल पनि निर्माण हुनेछ ।

खेल मैदानको डिपिआर निर्माण सम्पन्न भई मैदान निर्माणको ठेक्का लागिसकेको छ । डिपिआर अनुसार खेलमैदान निर्माणका लागि जम्मा १३ करोड, ४३ लाख,५८ हजार ३ सय ५७ रुपैंया ११ पैसा लाग्ने जनाइएको छ । गत आ.व.२०७५÷७६ मा प्रदेश नं. ३ सरकारले २ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आ.व. २०७६÷७७ मा दुई करोड रुपैंया बजेट थप माग गरिएको प्रदेश सांसद विनोद खड्काले बताउनुभयो । रंगशाला निर्माणको ठेक्का तामाङ मरिण कन्स्ट्रक्शन कम्पनीले पाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६