समाचार हेडलाईन न्युज

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

सुनकोसी न्युज
चैत १० गते शुक्रबार, २०७९
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिने भएका छन् ।

बुधवार विश्वासको मत लिनका लागि बैठक बोलाइएको भए पनि नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भए पछि स्थगित भएको बैठक आज बोलाइएको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मरकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोहोर्‍याएर विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसभित्र विश्वासको मत दिने नदिने बारेमा विवाद बढेपछि अन्तिम समयमा आएर बुधवार बोलाइएको बैठक स्थगित हुन पुगेको थियो ।

गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री जम्मरकट्टेलले विश्वासको मत पाउने देखिएको छ । यद्यपि सरकारको नेतृत्व र सहभागिताको विषयमा आन्तरिक छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको माग छ ।  विश्वासको मत दिए पनि सरकारको नेतृत्व, भागवण्डाका विषयमा भने छलफल हुनुपर्ने कांग्रेसका एक नेताले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १०, २०७९