समाचार हेडलाईन न्युज

एमाले अध्यक्ष ओलीले सरकारबिरूद्ध भ्रम फैलाए – सरकार

सुनकोसी न्युज
फाल्गुन २१ गते आइतबार, २०७९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाेलेकाे भन्दै विभिन्न संचार माध्यमबाट सरकारबिरूद्ध निरन्तर झुटाे अफवाह फैलाइरहेकाेले त्यसाे नगर्न सरकारले आग्रह गरेको छ। साथै राजनीतिक पूर्वाग्रह राखेर गरिएका यस्ता अफवाहकाे विश्वास नगर्न आम नागरिकलाई अनुरोध गरेको छ। केही समययता ओलीले सरकार बिरुद्ध निरन्तर भ्रमहरू सिर्जना गरिरहेको उहाँको भनाइ छ।  सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एक विज्ञप्तिमार्फ उक्त कुरा बताउनुभयो ।
भारतलाई मुस्ताङमा विश्वविद्यालय खाेल्न सरकारले अनुमति दिएको भन्दै केही संचार माध्यमले निरन्तर लेखिरहेकाे तर सरकारले यस्तो कुनै निर्णय नगरेको र अनुमति नदिएको विज्ञप्तिमा प्रष्ट पारिएको छ। भारत र चीनसँग नेपालकाे सम्बन्ध दरार उत्पन्न गराउने नियतले यस्तो समाचार लेखिएको उहाँले बताउनुभयो । विज्ञप्तिमा अन्तर्राष्ट्रिय कुटनैतिक मर्यादालाई ख्याल गरेर बाेल्न सचेत समेत गराइएको छ।
मुस्ताङको एमालेका नेता अध्यक्ष रहेको एक विद्यालयले भवनको माग गर्दै भारतीय दुताबासमा एक चिट्ठी लेखेको दुताबासले जनाएको छ । त्यसबारे छानबिन भइरहेको मन्त्रालयले जनाएको छ। हेराैं, विज्ञप्तिमा के लेखिएको छ :

प्रेस विज्ञप्ति
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई भनी सञ्चारमाध्यममा सार्वजनिक भएको समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल सरकारको धारणा स्पष्ट गर्न चाहन्छौं ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं ।
यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दुतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानविन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौं ।
सम्माननीय प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीनरूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ । परराष्ट्र नीतिमाथि आँच पुर्याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।
मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कुटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको छ । नेपाल निरन्तर असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको छ । तसर्थ, यस्ता भ्रमपूर्ण अभिव्यक्तिहरूबाट भ्रमित नहुनसमेत सञ्चारमाध्यम र आम जनसमुदायमा हार्दिक अपील गर्दछौं ।

२१ फागुन २०७९
रेखा शर्मा
प्रवक्ता, नेपाल सरकार

प्रकाशित मिति: आइतवार, फाल्गुन २१, २०७९

 

 

ताजा अपडेट