साहित्य हेडलाईन न्युज

म मशाल बाेकेर उठ्छु….

उपेन्द्र तिमल्सिना
सुनकोसी न्युज
फाल्गुन २४ गते बुधबार, २०७९

ए ठूलको बा…
पय चुसाउँदै डोको बोकेर
पखेरोमा भविष्य खोज्नु छ ।
खलियानको पराले कुन्यु हेर्दै,
चार पाथी धानले
दिन महिना गन्दै छाक टार्नु छ ।
टुसुक्क आलीमा सुस्ताउँदै गर्दा,
सानेको भोको चिच्च्याहटले
तरङ्गीत हुन्छु ।
उता गाईको अवाजले
घाँस पानी खोजी रहेको आभास हुन्छ ।
पिठ्यूँबाट नछुट्ने
घाँस दाउराको भारी
गोठमा ड्वाँड्वाँ गर्ने गाई भैंसी,
सामल पर्खि बसेको भान्छा,
अनि ए ठूलेको बा
चुलो चौका देखि मेलापात
घाँस दाउरा, ऐंचोपैंचो
सबै मेरै भागमा पर्छ हो ??
ए ठूलेको बा !
केही त बोल …
आज नारी दिवस,
क्लारा जेटकीनको इतिहास
दोहोर्याउनु छ ।
योगमायालाई पनि पढ्नु छ ।
सहना प्रधानको योगदानलाई
स्मरण गर्दै
उता पश्चिममा ललि रोक्का र
पूर्वमा दिलमाया योन्जनको
रगतले भिजेको
रक्त मुच्छेल झण्डालाई
अझ उच्चाइमा उठाउँदै
सगरमाथामा फहराउनु छ ।
त्यसैले आउ,
ए ठूलेको बा
आधा आकाश तिम्रो पनि हो
आधा आकाश मेरो हो ।
त्यसैले त आउ
ए ठूलेको बा
घाँस दाउरामा सहभागी होऔं
अनि चुलो चौका र ऐँचोपैँचोमा
साझेदारी गरौँ ।
सामल पर्खि रहेको भान्छामा
मैले आगो बाल्दै गर्दा
तिमि आँटो लिएर आउनु ।
अनि एउटा सुन्दर परिवारको गर्भबाट सुन्दर समाज निर्माण गर्नु पर्छ ।
ठूलेको बा
त्यसैले अब
न्याय र समानताको लागि
तिमि बिहानीको सूर्योदय सँगै
बिगुल फुकेर उठ,
म मशाल बोकेर उठ्छु !
म मशाल बोकेर उठ्छु !!

प्रकाशित मिति: बुधबार, फाल्गुन २४, २०७९