मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

बालबालिकाको प्राेटिनमाथिकाे अधिकार स्थापना गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

सुनकोसी न्युज
माघ ७ गते शनिबार २०७९
काठमाडौं । नेपालका पशु सम्बन्धि चिकित्सकहरूकाे छाता संगठन नेपाल भेटेरिनरि एशाेसियशन नेपालले नेपाल दाना उद्योग संघ र सम्वन्धित सराेकारवालाहरूकाे सहभागितामा प्राेटिनमाथिकाे अधिकार स्थापना गर्न आयोजना गरेको हाफ म्याराथुन दाैड कार्यक्रममा बाेल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि बालबालिकालाई आवश्यक पर्ने पर्याप्त प्राेटिन नपुगेको कारणबाट पर्याप्त शारीरिक विकास हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकार गरीबीको दर घटाउँदै प्रोटिन लगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न प्रतिवद्ध रहेको कुरा व्यक्त गर्नुभयाे।
कार्यक्रममा उहाले व्यक्त गर्नुभएको अभिव्यक्ति यस्तो छ :

“नेपालका सम्पूर्ण पशु चिकित्सकहरुको छाता संगठन नेपाल भेटेरिनरी एशोसिएसनले नेपाल दाना उद्योग संघ र सम्बन्धित सरोकारवालाहरुको सहभागितामा प्रोटिन माथिको अधिकारलाई स्थापित गर्ने पुनित उद्देश्यले हाफ म्याराथन लगायतका दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकोमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
नेपाल सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा प्रोटिनको उपलब्धता सोचे जति पुग्न सकेको छैन। फलस्वरुप पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था छ। तथ्यांकअनुसार सन् २०१९ मा ३२ प्रतिशत ५ वर्ष मुनिका बच्चाहरुले उमेर अनुसारको उचाई प्राप्त गर्न सकेनन्। खास गरी उमेर अनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता समस्याहरु हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ।
पुड्कोपना र कुपोषणको समस्याबाट विशेष गरी गरीबीको रेखामुनि रहेका आमजनसमुदाय बढी पीडित रहेको पाइन्छ। नेपाल सरकार गरीबीको दर घटाउँदै प्रोटिन लगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न प्रतिवद्ध रहेको कुरा म यहाँ व्यक्त गर्न चाहन्छु।नेपाल सरकार गरीबीको दर घटाउँदै प्रोटिन लगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न प्रतिवद्ध रहेको कुरा म यहाँ व्यक्त गर्न चाहन्छु।
पहिलो १००० दिनमा बालबालिकाहरुलाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार छ। त्यसकारण गर्भवती महिला र नवजात शिशुहरुलाई लक्षित गरी स्वास्थ्य प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु समेत नेपाल सरकारले सञ्चालन गरिरहेको अनुरोध गर्दछु।
नेपाल भेटेरिनरी एशोसिएसनले गरेको यस कार्यक्रमले नेपाल सरकारको अभियानमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस अर्थमा म तपाईहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
पशुजन्य र वनस्पतिजन्य प्रोटिनका स्रोतहरुबारे र तिनको उपयुक्त प्रयोगबारे जनचेतना जगाउन यस अभियानले महत्वपूर्ण योगदान पुर्‍याएको अनुभव मैले गरेको छ। विशेष गरी पोल्टी उद्योगले अण्डा र ब्रोइलरको मासुमार्फत प्रोटिनको सस्तो आपूर्तिमा योगदान पुर्‍याएकोमा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकोमा पोल्टी उद्योगका उद्यमी र कृषकहरुलाई धन्यवाद दिन चाहन्छु।
आत्मनिर्भरउन्मुख यस उद्योगले बर्ड फ्लु लगायतका रोग, कच्चा पदार्थको मूल्य, औषधी आदिको समस्या भोगिरहेको बारे हामी जानकार छौं। र यी समस्याहरु समाधान गरी नेपालको अर्थतन्त्र र गरीबी निवारणमा महत्वपूर्ण योगदान पुर्‍याएको पोल्टी उद्योगलाई थप सवल र आत्मनिर्भर बनाउन सरकारको पूर्ण सहयोग रहनेछ। म स्वयं पनि कृषिको विद्यार्थी भएको नाताले यस क्षेत्रप्रति मेरो स्वाभाविक लगाव भएको कुरा पनि म यहाँ स्मरण गराउन चाहन्छु।
हाफ म्याराथन लगायत विभिन्न विधाका दौड प्रतियोगितामा विजेता खेलाडीहरुलाई विशेष बधाई र सम्पूर्ण सहभागीहरुलाई बधाई दिन चाहन्छु। खेलकुद क्षेत्रको विकासमा यस्ता खालका प्रतियोगिताहरुले महत्वपूर्ण योगदान पुर्‍याएका हुन्छन्। खेलकुदको वृहत्तर विकास गर्ने नेपाल सरकारको लक्ष्यलाई समेत यसले टेवा पुर्‍याउँछ।
अन्त्यमा यस प्रतियोगिताको सफलतापूर्वक आयोजना गर्ने नेपाल भेटेरिनरी एशोसिएसन र सञ्चालनमा सहयोग गर्ने सबै संघ संस्था र सहभागी तथा विजेता खेलाडीहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै म विदा हुन चाहन्छु।”

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९