विदेश समाचार हेडलाईन न्युज

शाेभराजलाई फ्रान्स डिपाेर्ट गरियाे

किरण खड्का
सुनकोसी न्युज
पुस ९ गते शनिबार, २०७९
काठमाडौं । लामाे काराबासपछि सर्वोच्च अदालतको फैसलाले शुक्रबार जेलमुक्त भएका चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइएको छ।

केन्द्रीय कारागारबाट जेलमुक्त सिरियल किलर शोभराजलाई अध्यागमन विभागले साँझको छ बजे फ्रान्स पठाएको अध्यागमन विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिइन्।

उनका अनुसार शोभराजलाई शुक्रबार साँझ ६ बजे कतार एयरवेजमा राखेर लगेको हो।

अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको छ।

बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो। सम्भव भएसम्म त्यही दिन कैदमुक्त गर्न आदेश दिए पनि कागजी प्रक्रियाका कारण ढिलाइ भएको थियो।

कागजी रूपमा बिहीबारै कैदमुक्त भएपनि उनी केन्द्रीय कारागारमै बसेका थिए।

शुक्रबार मात्रै उनलाई अध्यागमन विभाग पुर्‍याइएको थियो। अध्यागमन विभाग पुर्‍याएसँगै उनलाई डिपोर्टको प्रक्रिया अघि बढाइएको थियो।

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९