समाचार हेडलाईन न्युज

शाेभराजलाई पुनः केन्द्रीय कारागार लगियो, शुक्रबार अध्यागमन लगिने

सुनकोसी न्युज
पुस ७ गते बिहीबार, २०७९
काठमाडौं । १९ वर्षकाे लामो काराबासपछि बिहीबार सर्वोच्चले रिहाइ गर्ने आदेश दिएका विकनी किलर फ्रान्सेली नागरिक चाल्र्स् शाेभराज पुनः केन्द्रीय कारागार चलान भएका छन् ।

सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएपनि शोभराजले रिहा हुन अस्वीकार गरेका छन् । बिहीबार केन्द्रीय कारागारले शोभराजलाई रिहा गरी अध्यागमन विभागको जिम्मा लगाउन खोजेपनि शोभराजले अध्यागमन जान अस्वीकार गरेका हुन् ।

बिहीबार साँझ परिसकेको कारण अध्यागमन कार्यालयले पनि शोभराजलाई जमानीमा छाड्ने कि प्रहरीको हिरासतमा पठाउने भन्ने निधो गर्न सकेको थिएन । जमानीमा छाड्दा शोभराज होटलमा बस्नुपर्ने भएपनि शोभराजले अध्यागमन जान अस्वीकार गरेको वरिष्ठ अधिवक्ता गोपाल सिवाकोटीले बताए । अब शुक्रबार बिहान मात्रै शोभरालाई अध्यागमन विभागको जिम्मा लगाइने भएको छ । अध्यागमन विभागले त्यसपछि उनलाई जमानीमा छाड्ने कि प्रहरीको हिरासतमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ । विभागले प्रक्रिया पूरा गरेर उनलाई फ्रान्समा डिपोर्ट गर्ने तयारी गरेको छ ।

बुधबार सर्वोच्च अदालतको संयुक्त इजलासले शोभराजलाई कारागार नियमावली २०२० को नियम २९ को उपनियम २क अन्तरगत वृद्धको सुविधा दिएर थुनामुक्त गरेको थियो । २० वर्षको कैद सजाय तोकिएका शोभराज २०६० असोज १ गते काठमाडौंको दरवारमार्गबाट पक्राउ परेका थिए ।

भक्तपुर जिल्ला अदालतले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । फैसला अनुसार शोभराज २०८० साल असोजको १ गतेसम्म जेलमा बस्नुपर्ने थियो । तर सर्वोच्च अदालतले शोभराजको उमेर पनि धेरै भइसकेको र ९५ प्रतिशत सजाय भुक्तान गरिसकेको भन्दै उनलाई बन्दी प्रत्यक्षीकरणको रिटमा वृद्ध कैदीले पाउने सुविधा दिएर रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहिबार, पुस ७, २०७९