समाचार

प्रधानमन्त्री सिंगापुर प्रस्थान, चिकित्सकको सल्लाहपछि फर्किने मिति तय हुने

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन् ।

बिहीबार अपरान्ह साढे १ बजे थाई एयरको विमानमार्फत प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुर प्रस्थान गरेका हुन् ।

गत साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एसएनयू) मा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले एक विज्ञप्ती जारी गरी अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन ओली पुनः त्यसतर्फ प्रस्थान गरेको जानकारी गराएकी छन् ।

सिंगापुरमा रहँदा नेशनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तीमा जनाइएको छ ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा.सिंहले जनाएकी छन् ।

डा.सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ।’ चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ ।

प्रकाशित मिति: बिहिबार, भदौ ५, २०७६