समाचार

तीन वर्षमा १६ हजारले राेजे आत्महत्या

२० साउनमा चितवन बसपार्कस्थित कंगारु होटलमा माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरे ।

उनले आत्महत्या गर्नु अघि रेकर्ड गरेको भिडियोमा न्यूज २४ टेलिभिजनका ‘सिधा कुरा जनातासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीका कारण आफूले आत्महत्या गरेको बताएका थिए ।

हाल प्रहरीले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीनै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बिहीबार काठमाडौंबाट पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत चितवनको आदेशले अनुसन्धानका लागि थुनामा राखिएको छ । पहिलो चोटी प्रहरीलाई अनुसन्धान गर्न पाँच दिनको अनुमति दिएको अदालतले मंगलबार फेरि थप पाँचदिनको म्याद दिएको छ ।

यो मुद्दामा चितवन प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गरिरहेको छ ।

०००

२ असारमा जोरपाटीस्थित समता अस्पतालमा कार्यरत कर्मचारी रामेछापकी विमला तामाङले आत्महत्या गरिन् । उनको साथबाट समेत प्रहरीले ‘सुसाइड नोट’ भेटेको थियो ।

सुसाइड नोटमा अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेलसहित अस्पतालकै अन्य कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीेको नाम पोलिएको थियो ।

सोही नोटका कारण काठमाडौं प्रहरीले विमलालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा सञ्जेलकी श्रीमतीसहित तीनै जनालाई पक्राउ ग¥यो । हाल जिल्ला अदालत काठमाडौंको आदेशले उनीहरु जनही ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

०००

एक महिना अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका पूर्व नायव सुब्बा हरिप्रसाद आचार्यले पनि आत्महत्या गरे ।

उदयपुरका आचार्यले उदयपुरको जंगलको रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । उनको साथबाट समेत प्रहरीले आयोगका प्रमुख नवीनकुमार घिमिरेका कारण आत्महत्या गरेको नोट भेटेको थियो ।

त्यस्तै कञ्चनपुरमा एक विद्यार्थीले शिक्षकका कारण आत्महत्या गरेको भन्दै नोट लेखे । यसरी सुसाईड नोट लेखेर आत्महत्या गरेको भेटिएकामध्ये घिमिरेबाहेक सबै पक्राउ परिसकेका छन् ।

मंलबारमात्र राष्ट्रिय योजना आयोगका सुब्बा बच्चुराम केसीले पनि नोट नै लेखेर आत्महत्या गरे । मुलुकी संहिता २०७४ कार्यान्वयन भएपछि मृत्यु रोज्नुको कारण खुलाएर (सुसाइड नोट लेखेर) आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ ।

डरलाग्दो तथ्यांक

आत्महत्या गर्नु आफैंमा अपराध भएपनि पछिल्लो तीन वर्षयता आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । प्रहरी प्रधानकार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा आत्महत्या गर्नेको संख्या ५ हजार १ सय २४ छ ।

प्रहरीको तथ्यांक अनुसार विष सेवन गरेर, आगो लगाएर, झुण्डिएर, हाम फालेर, करेन्ट लगाएर र डुबेर आत्महत्या गर्ने गरेको पाइएको छ । यसरी आत्महत्या गर्नेमा २ हजार ६ सय ५३ पुरुष र २ हजार एकसय ६४ महिला छन् । अन्य बालबालिका छन् ।

यस्तै आर्थिक वर्ष २०७४/७५ मा पनि आत्महत्या गर्नेको सख्या ५ हजार ३ सय ४६ छ । यीमध्ये २ हजार ८ सय पुरुष र २ हजार २ सय ४२ महिला छन् । बाँकी बालबालिका नै थिए ।

यसरी आत्महत्या गर्नेको संख्या बढेर आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ७ सय ५४ पुगेको छ । यसमा ३ हजार ३ सय पुरुष र २ हजार ४ सय ७३ महिला रहेका छन् । अन्य बालबालिका रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाउँछ ।

सबैभन्दा बढी झुन्डिएर

प्रहरी प्रधान कार्यालयको तीन वर्षको आत्महत्या गर्नेको तथ्यांक हेर्दा यो डरलाग्दो छ । तीन वर्षमा आत्महत्या गरेर मर्नेको संख्या १६ हजार एकसय ९५ जना रहेका छन् ।

यो तथ्यांक देशकै लागि डरलाग्दो रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखलरलेको भनाइ छ । सयमै सयबारे सरोकार निकायहरु गम्भीर हुनुपर्ने बेला आएको पोखरेलको तर्क छ ।

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरैले झुन्डिएर आत्महत्या गर्ने गरेका छन् । तीन वर्षमा आत्महत्या गरेर मर्नेको संख्या १६ हजार एकसय ९५ जनामा ११ हजार नौ सय ४१ जनाले झुन्डिएर आत्महत्या गरेको तथ्यांक छ । त्यसपछि विष सेवन गरेर आत्महत्या गर्नेहरुको रहेको छ ।

तीन वर्षमा विष सेवन गरेर आत्महत्या गर्नेमो संख्या तीन हजार आठ सय ३८ जना रहेको छ । त्यसरी नै प्रहरीको तथ्यांक अनुसार आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर र डुवेर समेत आत्महत्या गरेकोे छ ।

यसरी आत्महत्या गर्नेहरुमा सबैभन्दा बढी १९ वर्षभन्दा माथि र ४० वर्ष मुनीको उमेर समूह रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।

तीन वर्षमा आत्महत्या गर्नेमध्ये ५६ प्रतिशत यही उमेर समूहले गरेको प्रहरीले जनाएको छ । मुलुकी संहिता २०७२ ले भने आत्महत्या गर्न बाध्य गर्नेमाथि कानूनी कारबाही हुने व्यवस्था गरेको छ ।

यस्तो छ कानूनी व्यवस्था

गत भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कारबाही हुने उल्लेख छ । संहिताको दफा १८५ मा भनिएको छ, ‘कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन ।’

यस्तो कसुर गर्नेलाई ‘५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना’ हुने व्यवस्था छ ।

प्रकाशित मिति: बिहिबार, भदौ ५, २०७६

ताजा अपडेट