समाचार हेडलाईन न्युज

छिट्टै धनी हुने महत्वकांक्षाले भ्रष्टाचार मौलायो : प्रचण्ड

सुनकोसी न्युज
भदौ ३०, बिहीबार २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै धनी हुन मान्छेले अपनाउने गलत ढंगले भ्रष्टाचार मौलाएको बताएका छन् । गलत ढंगले आर्जन गरेको सम्पत्तिले गलत परिणाम निकाल्ने भन्दै उनले आत्मसम्मानका साथ समाजमा बाँच्न जहिले पनि दिगो र पारदर्शी कामको  बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् । बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र र लोकतन्त्र परिवर्तनको प्रमुख वाहक हुनुको नाताले नेपालमा आर्थिक समृद्धिका क्रान्ति आवश्यक रहेको औल्याए । हामीसँग मानवीय जनशक्ति, प्राकृतिक स्रोत साधन हुँदाका बाबजुद पनि राजनीतिक समस्याका कारण मुलुकमा समस्या भएको औल्याएका छन् । राजनीतिक स्थायित्व र नेतृत्वको दृढ इच्छाशक्तिले मात्रै विकासलाई गति दिन सकिने उनको भनाइ थियो । अब गर्ने क्रान्ति भनेको आर्थिक रुपान्तरण र समृद्धिको क्रान्ति रहेको बताउंदै उनले  केही मिसन, भिजन तयार रहेको बताए । नेपालमा जलविद्युतको ठूलो सम्भावना हुँदा पनि पानी खेर गइरहेको तर जति मात्रामा लाभान्वित हुनुपर्ने हो, त्यस किसिमको नेतृत्व र योजना अगाडि बढाउन नसकेको धारणा उनले राखेका छन्  । पर्यटनको धेरै ठूलो सम्भावना भएपनि त्यसका लागि आवश्यक पूर्वाधार, नीति, योजना र कार्य जति प्रभावकारी हुनुपर्ने हो, त्यो नभएको प्रचण्डले औल्याएका छन् । कृषि प्रधान मुलुकमा कृषिमा आधारित उद्योगहरुका कारण नै नेपालमा विकासले गति लिन सक्नुपर्नेमा खाद्यान्न आयात गर्नुपर्ने दुःख अवस्थामा पुगेको बताउंदै उनले भने, ‘जमिन बाँझो छ, युवा जनशक्ति विदेशमा छन्, रेमिट्यान्स आएको छ, त्यसैबाट हामी चलेका छौं ।’ यस्तो दुःख परिस्थितीको परिवर्तन गर्न जरुरी रहेको भन्दै उनले जसले राजनीतिक परिवर्नतका लागि नेतृत्व गर्यो आर्थिक समृद्धि पनि यही प्रणालीमार्फत आउन सक्ने बताए ।

२.ओलीप्रति प्रचण्डको कटाक्ष : ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने,भित्र भ्रष्टाचारबाहेक अरु केही नहुने’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीप्रति कटाक्ष गर्दै ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने साइनबोर्ड झुण्ड्याउने र भित्र भ्रष्टाचारबाहेक अरु केही नहुने’ भन्दै यो किन भइरहेको छ भन्दै प्रश्न गरेका छन् भने  यसमा व्यक्तिको  मात्रै दोष नभई प्रणालीमा नै खोट भएको औल्याएका छन् । बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हाम्रो प्रणालीको कारण देखा परेको विकृति र विसंगतीलाई सुधार गर्न शान्ति पूर्ण तरिकाले छलफल र बहसको माध्यमबाट समाजिक जीवनका विभिन्न क्षेत्र र सहभागितामा आवश्यक पर्दा सडकबाट पनि नेपालमा मौलाएको कुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्न सकिने बताएका छन् । मेसिननै ठिक नभएपछि जति राम्रो सामान हालेपनि  सामान अन्ततः विग्रिने भन्दै प्रणालीमा सुधार गर्न जरुरी रहेको उनको धारणा थियो । निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर व्याप्त विकृति र विसंगतीलाई कुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने भन्दै प्रचण्डले देशको शक्तिलाई एकतावद्ध बनाएर विकास र समृद्धितिर लान सकिने बताए । वुज्रुवा र भ्रष्टहरुलाई माओवादी नेतृत्व रहँदासम्म चयनमा बस्न नदिने दावी गर्दै उनले  त्यसका लागि सहयोगको अपिल गरे । जनयुद्ध, जनआन्दोलन जहिले पनि जनताको साथका कारण सफलताको यो विन्दुसम्म आएको स्मरण गर्दै उनले अर्को सफलताको नयाँ विन्दुसम्म पुग्न पनि जनताको साथ आवश्यक रहेको बताए । नीजि क्षेत्रमा काम गर्ने व्यवसायीहरुलाई सहज ढंगले व्यवसायको प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नु नै राज्यको पहिलो जिम्मेवारी रहेको उनको भनाइ थियो । कोभिडले नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेको भएपनि विस्तारै मिल्दै आएको र  मुलुकलाई आत्मनिर्भर बनाउने र औद्योगिकरणको आधार भनेकै कृषिमा आधारित उद्योगहरु भएकाले कृषिमा सुधार र क्रान्ति आबस्यक भएको बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, भदौ ३०, २०७९