समाचार

भक्तपुरमा पहिरो, केयुकेएलको लापरवाहीले पाँच घर जोखिममा

मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीमा पहिरो जाँदा पाँच घर जोखिममा परेका छन् । स्थानीय निकाय र खानेपानी ठेकेदारको लापरवाहीले सन्तोष तामाङ, प्रेम लामा, भरत पौडेल, पूर्ण सापकोटा र कृपाको घर जोखिममा परेको छ ।

सन्तोष तामाङ, प्रेम लामा भरत पौडेलको घरको एक फिट सम्म नै पहिरो गएका कारण उनीहरुको घर उच्च जोखिममा परेको छ ।

सार्वजनिक जग्गामा खानेपानीको ट्यांकी निर्माणका लागि डोजर चलाउँदा गए राती ठूलो पहिरो गएको हो । पहिरोले बाटो भत्किएको छ भने स्थानीयको घर उच्च जोखिममा परेको छ ।

१ भदौदेखि केयुकेयलले पानी ट्याङकी निर्माणका लागि सार्वजनिक जग्गा खन्न थालेपछि नै स्थानीयले विरोध गरेका थिए । बर्षातको समयमा प्राविधिक जानकारी विना नै धमाधम डोजर लगाउँदा बस्ती नै जोखिममा परेको हो ।

केयुकेएलको ३ करोड २५ लाख लागतमा निर्माण हुन लागेको पानी ट्याङकीका लागि उक्त स्थानमा खनिएको थियो ।

१ गते देखि खन्न थाले पनि सोमबार माथिल्लो भेग समेत चर्कन थालेपछि स्थानीयले विरोध गरेका थिए । सिडियो समेत अनुगमनका लागि उक्त स्थान पुगेका थिए । उनले प्रविधिक सहयोग विना यसरी खन्दा पहिरो जान सक्ने भन्दै खन्न रोक लगाएका थिए । राती परेको पानीले बस्ती नै जोखिममा पर्नेगरी पहिरो गएको छ ।

केयुकेएलले पानी ट्याङकीको लागि सार्वजनिक जग्गामा खनेको हो तर उनीहरुको लापरवाहीले नै जोखिम भएको मध्यपुर थिमी नगरपालिकाका–१ अध्यक्ष सुरज खड्का बताउँछन् ।

उनका अनुसार उक्त स्थान भनेको पुरुवा माटो भएको स्थान थियो र स्थानीयले पनि उक्त स्थानमा फोहर फाल्ने आदि गर्दै आएका थिए त्यसले पनि माटो अझ कमजोर भएको र पहिरो नै गएको बताए ।

प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६