समाचार हेडलाईन न्युज

बेपत्ता विद्यार्थीहरू राई र भण्डारीकाे सम्झनामा कपनमा अन्तर्क्रिया

सुनकोसी न्युज
असार २, २०७९
काठमाडौं । सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठानले जनयुद्ध कालमा राज्यबाट बेपत्ता पारिएका नेताहरू दिलबहादुर राई र विपिन भण्डारीको स्मृतिमा विचार गाेष्ठी सम्पन्न गरेको छ।
जनयुद्ध कालमा काठमाडौं कार्यक्षेत्रमा कार्यरत विद्यार्थी नेताहरू राई र भण्डारीलाई राजधानी प्रेस धाेविखाेलापारिबाट २०५९ साल असार २ गते तात्कालिन शाही सेनाले पक्राउ गरेको थियोे । तर उहाँहरूलाई अहिलेसम्म राज्यले सार्वजनिक गरेको छैन । संगठन र परिवारले उनीहरूको कि सास देउ, कि लास देउ भन्दै अवस्था सार्वजनिक गर्न माग गरिरहेकाे छ। द्वन्द्वकालमा राज्यबाट उनीहरू लगायत हजारौं नागरिक बेपत्ता बनाइएको छ।
राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकार संघसंस्थाले बेपत्ताको अवस्था सार्वजनिक गर्न अहिलेसम्मका सबै सरकारलाई दबाब दिइरहे पनि कसैले उनीहरूको अवस्था सार्वजनिक गर्ने जमर्को गरेका छैनन् । स्वयम् माओवादी नेतृत्व र सहभागी सरकारले पनि यसमा अपेक्षाकृत तत्परता नदेखाउनु बेपत्ता परिवारको लागि झन बढी पिडाकाे विषय भएको छ।
कार्यक्रममा सहभागी दिलबहादुर राईकी आमाले छाेरा बेपत्ता भएको भन्दा पनि पार्टी बिग्रेकोमा बढी चिन्ता व्यक्त गर्नुभयो ।
माओवादी केन्द्रीय सदस्य देवेन्द्र पराजुलीले असाध्यै हाेनाहार युवा विद्यार्थी पार्टी र परिवारले मात्रै नभएर देशले नै गुमाएको, पार्टीलाई सही ढंगबाट संचालन गर्न सहिद बेपत्ताको भावना अनुसार काम गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीमा भए पनि नभए पनि सबै सहिद परिवार, बेपत्ता परिवार र घाइते अपांग पार्टीको सम्पत्ति हाे र यसको संरक्षण गर्ने दायित्व पार्टीको हाे भन्नुभयो । पार्टीका नेता कार्यकर्ताले सहिद बेपत्ता परिवार र घाइते अपांगको गाली गुनासा सुन्ने हिम्मत नगर्ने हाे भने जनताबाट बहिष्कारको सामना गर्ने अवस्था आउनसक्ने बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष तथा जनयुद्धका घाइते माओवादी नेता गंगा बहादुर लामाले पार्टीले घाइते अपांग र सहिद बेपत्ता परिवारलाई उपत्यकाको पार्टीले नजरअन्दाज गरेको गुनासो गर्नुभयो । काठमाडौंमा नेतृत्व विकासका लागि यहीँका नेतालाई पाखा लगाउदै बाहिरका नेतालाई चुनावमा टिकट दिने काम भएकोले चुनावमा अनपेक्षित परिणाम भाेग्नुपरिरहेकाे दृष्टान्त बताउनुभयाे। उहाँले माओवादीले नै गर्न सक्छ र गर्नुपर्छ भन्ने विश्वास नमरिसकेकाे हुनाले नै सबैभन्दा बढी आक्राेश उसैलाई देखाएको र उसैलाई गाली गरेको बताउनुभयो । उहाँले जाेसँग बढी अपेक्षा गरिन्छ गाली पनि उसैलाई बढी गरिन्छ भन्दै माओवादी सच्चिएर देश, जनता र परिवर्तनको लक्ष्य प्रति उत्तरदायी हुनुको बिकल्पै छैन भन्नुभयो ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ४ का माओवादी नेताहरू, कामनपा ६ का नेताहरू लगायत कपन अनलाइनका सम्पादक पुण्यप्रसाद पुडासैनी लगायतको सहभागीता रहेको थियो । पुडासैनीले आफू दिलबहादुर राइसँग द्वन्द्वकालमा माओवादी पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएको राेचक स्मरण गर्नुभयो । कार्यक्रम राईका सहयाेद्धा उपेन्द्र तिमल्सिनाले संचालन गर्नुभएको थियो । कार्यक्रममा जनयुद्धका घाइते विष्णु लामाले जनयुद्धकालमा आफू घाइते भएको बेला घाउमा परेको किरा दिलबहादुर राईले निकालिदिएकाे बताएर सबैलाई भावुक बनाउनुभएकाे थियोे । उहाँले माओवादी पार्टीका नेताहरू घाेषित लक्ष्यबाट च्युत भएको र प्रतिक्रियावादी दलदलमा फसेको चिन्ता जाहेर गर्नुभयो । एउटा गाेली बिग्रेका नेताको लागि सुरक्षित राखिएको छ भन्दै लामाले आक्राेश व्यक्त गर्नुभयो ।
आजैका दिन राैतहटमा हत्या गरिएका दाेलखाका  माओवादी केन्द्रीय सदस्य रितबहादुर खड्का प्रतापकाे पनि स्मृति दिवस सम्पन्न भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हाे

प्रकाशित मिति: बिहिबार, असार २, २०७९