सुनकोसी न्युज
नियात्रा संस्मरण
राजेन्द्र शर्मा काफ्ले (वरिष्ठ इन्जिनियर)
उज्बेकिस्तान भ्रमणको सिलसिलामा राजधानी ताशकन्दबाट करीब ३०० किमि टाढाको अर्को ठूलो र धेरै महत्वपूर्ण र प्रचीन शहर समरकन्द जाँदै थियौँ।बिहान सबेरै बसबाट हाम्रो यात्रा शुरु भयो। सफा र फराकिलो राजमार्ग को यात्रा मनमोहक थियो।
थोरै तल-माथि भएको त्यहाँ को भूबनौटमा बडो मिहेनतले सुन्दर हुने गरी बनाइएका राजमार्गहरुमा सडक छेउका नालीहरु नभएको देखेर तेतिखेर मलाई निकै अनौठो लागेको थियो।बस रोकेको बेला एकजना स्थानियलाई मैंले ‘त्यहाँ किन नाली नभएको’ भनेर सोध्दा ‘पानी नै पर्दैन किन नाली चाहियो र ?’ भन्ने जबाफ पाएको थिएँ।उसले भन्दै थियो ‘एक बर्ष अघि अगस्तको कति पो तारीख यसो सानो पानी परेको सम्झना छ’।तेसो भनेको सुन्दा म छक्क परेको थिएँ।
यो राजमार्गमा यात्रा गर्न पाएकोमा म अर्को कारणले पनि निकै उत्साहित थिएँ।
उज्बेकिस्तान आउनु भन्दा पहिले मैले मिन्स्कमा नै त्यहाँको एउटा निकै लोकपृय बैज्ञानिक पत्रिका ‘ नाउकाइ झिज्न'( नेपालीमा ‘बिज्ञान र जिबन’)मा मध्य एशियाको ‘अराल्सकोए मोरे'(नेपालीमा अराल समुद्र)नामको एउटा बिशाल ताल(झण्डै नेपालकोे क्षेत्रफलको आधा साइजको) वा समुन्द्रको बारेमा पढेको थिएँ। यो समुद्रमा मध्य एशियाका ‘शिरदार्या’ र ‘आमुदार्या’ नामका दुइटा ठूला नदीहरुले पानी भर्ने काम गर्दा रहेछन्।तर समुद्रबाट पानीको कुनै निकास चाहिँ रहेनछ।यी दुइ नदीले भर्ने पानीको मात्रा र वाष्पिकरण बाट उडेर जाने पानीको मात्राको सन्तुलनले पानीको सतह सन्तुलनमा रहेको रहेछ।
सोभियत संघले त्यो क्षेत्रमा कपास खेतिको ठूलो सम्भावना देखेको रहेछ। त्यहाँको अर्थतन्त्रमा कपासको यति ठूलो योगदान रहेछ कि त्यहाँ कपासलाई ‘बेलोए जोलोतो’ (सेतो सुन ) नै भनिदो रहेछ।कपास खेतिको लागि आबश्यक पर्ने पानीका लागि ती दुइ नदीको पानी समुद्रमा पुग्नु पहिले नै तर्काएर सिंचाइ गर्न पठाइएको रहेछ। यसले समुद्रमा पुर्याइ रहेको पानीको आपूर्ति घट्न गएर समुद्र सुक्न थालेछ र ठूलो मानब शृजित बिपद आएको रहेछ। यो बिपदको बारेमा बडो मार्मिक ढंगले बर्णन गरेर त्यो पत्रिकामा लेख प्रकाशित भएको थियो।
यो राजमार्गले ती दुइ नदी मध्येको एउटा सिरदार्या नदी पार गर्छ भन्ने थाहा पाएर पनि म तेसको प्रतिक्षामा थिएँ। केही समयमा नै त्यो नदी पनि पार गरियो।
हाम्रो बस गुडिरहेको बेला पर पर रेल एबं मोटरहरु कुदिरहेको देखिन्थे।कुनै जमानामा ती बाटाहरुमा चीन र युरोपको बीचमा सिल्कका भारी बोकेका ऊँटका क्याराभानहरु हिड्दथे रे भनेर थाहा पाइयो।कति रोमाञ्चक हुन्थ्यो होला त्यो सिल्क रोडको यात्रा।
३- ४ घण्टाको यात्रापछि हामी समरकान्द शहर पुग्यौं। त्यहाँ पुगेपछिको एउटा अर्को रमाइलो क्षण यहाँ उल्लेख गर्न चाहन्छु।
तत्कालीन सोभियत संघ पूर्ब पश्चीम यति लमतन्न फैलिएको थियो कि एउटै देशमा पनि सुदूर पूर्ब र सुदूर पश्चिमको समयमा ९ घंटा फरक थियो अर्थात नौवटा टाइम जोन हरुमा लमतन्न फैलिएको थियो। पश्चिम छेऊ लगायत राजधानी मस्कोमा दिउसोको ३ बज्दा सबै टाइम जोनको समय रेडियोबाट घोषणा गरिन्थ्यो। तेतिबेला सुदूर पूर्वको कम्चात्स्क भन्ने ठाँउमा रातको १२ बजेको हुन्थ्यो।
यतिसम्म कि कुनै कुनै ठाउमा त एउटै गणराज्यको एउटै ठाउँमा पनि नदी वारी एउटा समय र नदी पारी अर्को समय पनि हुन्थ्यो।
हामी बिहानै ताशकन्दबाट हिडेको हुनाले दिउसोको खाना समरकन्दमा खाने योजना थियो। समरकन्द पुगेपछि हामीलाई खानाखाने समयसम्म स्वतन्त्र रुपले घुम्न दिइयो र दिउसोको १ बजे खाना खान रेस्टुरेण्टमा आउन अनुरोध गरियो।
हामी केहिबेर घुमेर १ बजे होटलमा पुग्दाखेरि त होटलमा खानाको कुनै तयारी गरिएको थिएन।हामीले ‘खाना तयार ढिलो हुन्छ भन्ने थाहा भएको भए त बरु केहि बेर अरु घुम्थ्यौँ नि’ भनेर रेस्टुरेण्टमा भन्यौँ। तेसो भन्दा रेस्टुरेण्टको म्यानेजरले ‘किन हतार गरेर फर्केको त? भर्खर १२ बज्दै छ’ भन्यो। पछि थाहा भयो एउटै उज्बेकिस्तान गणराज्यमा पनि शिरदार्या नदी पारि समरकान्दमा एउटा टाइम जोन र वारी ताशकन्दमा अर्को टाइम जोन रहेछ र यी दुइटा जोनमा १ घण्टाको फरक रहेछ।
समरकान्द युरोप र चीनको बिचको ब्यापार मार्ग ‘सिल्क’रोड’ मा रहेको अत्यन्त प्राचीन शहर रहेछ।व्यापारिक मार्गमा रहेर सम्पन्न एबं कला संस्कृतिले युक्त समरकान्द शहरमा शहरमा हेर्ने कुराहरु धेरै रहेछन्। समयको अभावले हामीले केहि ठाँउहरु मात्र हेर्न पायौ।
३-४ कक्षामा उलुक बेग भन्ने अरबी गणितज्ञ एबं ज्योतिषको जिबनी पढिएको थियो।उनी यहिँ समरकन्दका रहेछन्। पृथ्वीले सूर्यको परिक्रमा गर्न लाग्ने समयको सहि आकलन गर्न उनले यहाँ एउटा वेधशाला बनाएका रहेछन्।ठूलो बृत्तको चाप(आर्क) मा पर्ने छायाँको स्थान हेरेर उनले गणना गरेर बर्षको लम्बाइ पत्ता लगाएका रहेछन्। ज्योतिष मेरो चाखको बिषय भएकोले यो वेधशालाको भ्रमण निकै रोचक रह्यो।
मध्य एशियाका चर्चित शासक टिमुरको समाधिस्थल पनि तेहिँ रहेछ, त्यो पनि हेरियो।तेसको गुम्बजमा इस्लाम आर्टको सुन्दर नमूना देखिन्थ्यो।
त्यहाँ धेरै भब्य ताजमहल जस्तै जस्तै लाग्ने रेगिस्तान नामको अत्यन्त कलात्मक एउटा मस्जिद पनि रहेछ।सायद पहिले त्यो चालु नै थियो होला। सोभियत सत्ता आएपछि तेसलाई एउटा सांस्कृतिक स्मारकको मात्र रुप दिइएको रहेछ।कट्टरपन्थी जकडिएको धर्मभिरु समाजलाई सोभियत सत्ता आएपछि एउटा अत्याधुनिक खुल्ला र प्रगति उन्मुख समाजमा परिणत गरिएको धेरै राम्रो लाग्यो।यस कुरामा मेरा केहि अरबियन साथीहरु सहमत थिएनन्।
समरकान्दको यात्रा सकिएपछि ताशकन्द फर्कने बेलामा केहि अरबियन साथहरुले ‘यति आइसकेपछि अर्को प्रसिद्ध शहर बुखारा पनि जानैपर्छ’ भनेर अड्डि कसेका थिए, तर भ्रमण तालिकामा नभएकोले त्यो प्रस्ताब खारेज भयो।
फर्कदा बिच बाटोमा हामी खाजा खान एउटा बाटोको ‘छायखाना'(हाम्रो भाषाको चियाखानासंग कस्तो मिल्दो रहेछ) मा रोकियौँ। लामा लामा दाह्री पालेका बुढाहरु हाम्रा फलैँचा जस्तामा पलेटी कसेर बसेर चिया,खाना खानका साथै गफ गर्दा रहेछन्।हाम्रैजस्तो मिल्दोजुल्दो मध्यएशियाको संस्कृति प्रति मज्जा लाग्दथ्यो।
तेस छायखानामा एउटा रमाइलो घटना घटेको सम्झना छ। हामीमध्येका एकजना साथीले नेपालबाट लगेको एउटा फुटपाथे नक्कली सिटिजन लेखेको घडी लगाएका रहेछन्, त्यो एकजना उज्बेकले देखेछ।अनि त उसले ‘जति पैसा चाहिन्छ भन, तर घडी मलाई दिनै पर्छ’ भनेर अड्डी कसेर छोड्दै छोडेन।’हैन यो नक्कली घडी हो’ भन्दा पनि उसले धर छाडेन।आखिरमा बाध्य भएर उसको एकदम राम्रो रुसी घडीसंग साटेपछि मात्र धर पाइयो।
फर्कँदा बाटोमा उज्बेक गाँउहरु हुँदै बस हुईकिरहेको हुन्थ्यो। फुङ्ग उडेको रङ्ग भएका, बाटो पट्टी एउटा पनि झ्याल नभएका गाँउले घरहरु पनि निकै देखिन्थे।सायद ति दुर दराजमा इस्लामिक परम्परा अनुसार स्वास्नि मान्छेहरु बाहिरबाट नदेखिउन भनेर झ्यालहरु नराखिएको होलान्।सायद सोभियत सत्ताको उज्यालो ती गाँउहरुमा पुग्न र आधुनिकतामा रुपान्तरण हुन अझै बाँकि नै थियो।(उज्बेकिस्तानको सम्झना समाप्त)
Add Comment