सुनकोसी न्युज
असार १, २०७९
सन् १९८८ को सेप्टेम्बर महिनामा करीब ७ दिनको उज्बेकिस्तान भ्रमण आयोजना गरिएको र जान मन भए नाम लेखाउनु भनेर कलेज प्रशासनले जानकारी दियो।सोभियत संघको युरोपियन भागको धेरै जसो ठाँउहरु देखिसकिएको थियो।एशियाली भाग कस्तो होला भन्ने कौतुहलता थियो। त्यस माथि प्राचीन सभ्यताको केन्द्र, मध्य एशिया घुम्न पाउने भएपछि मन फुरुङ्ग भयो, अनि नाम लेखाएँ।
हामी १०-१५ जना विदेशी बिद्यार्थीहरु दुइवटी हाम्रा शिक्षिकाहरुको नेतृत्वमा उज्बेकिस्तानको राजधानी ताशकेन्त जानका लागि मिन्स्कबाट हवाइजहाजमा प्रस्थान गर्यौँ।जम्मा 6-7 घण्टाको उडान भएपनि बीचमा उक्राइनाको दनेच्क भन्ने एउटा शहरमा 1-2 घण्टाको बिश्रामपछि पुनः उडेर ताशकेन्त आइपुग्यौं।
सोभियत संघ एशिया र युरोप दुइटा महादेशमा फैलिएको थियो।युरोपियन भागको केन्द्रका रुपमा मस्को र एशियन भागको केन्द्रको रुपमा ताश्केन्तलाई प्रवर्धन गरिएको भनेर सुनिएको थियो।साँच्चै पनि ताशकेन्तको भव्यताले त्यो कुराको पुष्टि गर्दथ्यो।ठूला फराकिला सडक,सफासुग्घर र चुस्त भुमिगत रेल, चुस्त सार्बजनिक यातायात प्रणाली, राम्रा अग्ला घरहरु अनि झण्डैं मरुभुमी जस्तो जलबायु भएको त्यो ठाँउमा पनि ठूलठूला हरियाली नै हरियालीले भरिएका पार्कहरु र पानीका फोहोराहरु, प्रशस्त खुला ठाँउ देखिन्थे।
इतिहासको कक्षामा सोभियत सत्ता आएपछि मध्य एशियन गणराज्यहरुको कसरी सामाजिक, आर्थिक रुपान्तरण भएको थियो भनेर पढेको कुरा एकदमै सही लाग्दथ्यो। महाशक्ति देशको वैभवतालाई मस्कोका संरचनाहरुको आकार , प्रकार र भव्यताले जसरी उजागर गर्थे त्यसमा एशियाली भागको तासकेन्तले थप पृष्ठपोषण नै गर्दथ्यो।
हामीलाई स्थानिय भाषामा ‘उच्कु दु'(नेपालीमा अनुबाद गर्दा तिनवटा इनार) नामको भव्य होटलमा राखिएको थियो।खाना खाने डाइनिङ्ग हलमा त्यहीँ काम गर्ने एकजना बेलारुसियन महिला भेटिइन्।उनी सानै छँदा बाबुआमासँग बेलारुसबाट सन् १९६७ को भुकम्पमा उज्बेकिस्तानलाई सहयोग गर्ने टोलिमा आएकी रहेछन्।हामी बेलारुसबाट आएको भनेपछि एकदमै खुशी भइन्।यहाँ आएपछि बेलारुस कहिल्यै गएको त छैन तर मर्न चाहिँ त्यहीँ पुग्न पाए हुन्थ्यो भन्थिन्।
त्यहाँका ऐतिहासिक र कलाका म्युजियमहरु पनि घुमियो।म्युजियममा लक्ष्मी प्रसाद देबकोटा समेतले भाग लिएको एउटा सम्मेलनको फोटो पनि देखिएको थियो। गाइडले बर्णन गर्ने क्रममा प्राचीन मध्य एशियाली सभ्यतालाई इस्लामको आगमनताका कसरी ध्वस्त पारियो अनि इस्लामले कस्ता कस्ता राम्रा कुरा ल्यायो भनेर भन्दाखेरि एकजना जोर्डनी फिलिस्तिनी साथीले खिचलो झिकेको थियो।गाइडले राम्रा नराम्रा दुबै कुराहरु सन्तुलित नै गरी बताइरहेकी भएपनि उसलाई इस्लामको नकारात्मक कुरा गरेको सह्य भएको थिएन।
ताशकेन्त बसाइको क्रममा दिनदिनै बिहानैदेखि शहर वरिपरिका ठाँउहरु पनि घुम्न लगिन्थ्यो।बस रिजर्भ गरिएको हुन्थ्यो।बसको ड्राइभर उज्बेक नै थियो।हामी एशियनलाई देखेपछि उसले हामीलाई पनि मुसलमान दाजुभाइ नै मानेको थियो, वा उसलाई मुसलमान बाहेक अरु एशियन पनि हुन्छन् भन्ने थाहा नै थिएन।
युरोपबाट आएका हाम्रा शिक्षिकाहरु गर्मी ठाँउमा आउन पाएकोमा निकै खुसी देखिन्थे र लुगा पनि तेस्तै किसिमका शरीर देखिने गरी हल्का लगाउँदथे।तर हाम्रो उज्बेक ड्राइभर भाइलाई त्यो मन पर्दैनथ्यो।अनि बसको पछाडि फर्केर उनीहरुलाई देख्ने बित्तिकै बिस्तारै थुः थुःथुः गरेर धिक्कार्थ्यो।हामीसंग सुटुक्क “हेर त यी युरोपियनहरु कस्ता लुगा लगाँदछन्, सँगुर्नीहरु” भन्दथ्यो।एउटै देशभित्र पनि यत्रो सांस्कृतिक भिन्नता देखेर हामीलाई अचम्म लाग्दथ्यो।(क्रमश:)
Add Comment