जीवनशैली मुख्य समाचार साहित्य हेडलाईन न्युज

उज्बेकिस्तान भ्रमणको सम्झना-२ (सोभियत शृङ्खलाको निरन्तरता

सुनकोसी न्युज,
जेठ ३१, २०७९
नियात्रा संस्मरण
राजेन्द्र शर्मा

उज्बेकिस्तान भ्रमणको क्रममा एकदिन हामीलाई ताशकेन्त भन्दा केही उत्तर पूर्वमा पर्ने ‘चारभाक’ रिजर्भ्वायरमा लगिएको थियो। बिहान सबेरै होटलले नै प्याकेट खानाको प्रबन्ध मिलाइदिएको थियो। बाटोभरि उज्बेक ड्राइभर हामीसँग आफ्नै बिदेशी दाजुभाइ नै भेटे झैँ  कुराकानी गर्न रमाइलो मान्थ्यो।बेला बेलामा हाम्रा शिक्षिकाहरुको पहिरनमा कमेण्ट पनि गरिरहेको हुन्थ्यो।

बाटोभरि देखिने बिशाल अंगुर, तर्बुज र अरु बिबिध फलफूल का फार्महरु मनमोहक थिए। केही बेर हाम्रो बस  फलफूल फार्मनिर रोकियो। घेराबेरा केही नभएको अंगुरको  फार्म यति विशाल थियो कि  त्यसको अन्त्य कतै देखिदैनथ्यो।पूरै क्षितिजमा बिलाउँदथ्यो। कहिल्यै यति ठूलो खेती नदेखेका हामीलाई अचम्म लाग्नु स्वभाबिकै थियो।अंगुर पाकेर पुरै कालो सतह मात्र देखिन्थ्यो। त्यहाँको एकजना मानिसले हामीलाई जति सक्छौ अंगुर टिपेर खाउ, अनि लग्न सके जति सित्तैमा लगे हुन्छ भन्यो। तेसबेला अंगुर अलि महंगै फल हो भन्ने लाग्दथ्यो। हामी छक्क पर्यौँ र सकेजति खायौँ अनि सायद केहि बोक्यौँ पनि।

त्यहाँ हामीलाई बताइए अनुसार अंगुर सबै फार्मभरि एकै पटक पाक्ने अनि फार्म यति ठूलो छ कि छेउबाट शुरु गरेर टिप्दा टिप्दै बीचतिर पुग्दासम्म कुहिन थालिसक्छ रे। अनि एकै चोटि धेरै ठाँउबाट शुरुगर्न जनशक्ति तथा मेशीनहरु नपुग्ने रहेछ।

सोभियत संघ त्यति विशाल भएपनि काम गर्ने जनशक्तिका लागि जनसंख्या एकदमै अपुग थियो। बेलारुसमा हाम्री बैज्ञानिक साम्यबाद पढाउने शिक्षिकाले भनेअनुसार ‘धन्न एशियन भूभागले बच्चा धेरै जन्माइदिएर जनसंख्याको सन्तुलन कायम गरिरहेको छ’ रे।त्यही एशियन भूभागमा पनि जनसंख्याको तेत्रो समस्या रहेछ।

‘देश बिकासमा जनसंख्या बाधक’ भनेर स्कुलमा पढेका हामीलाई अचम्म लाग्ने कुरा रहेछ त्यो। एकदिन तिनै शिक्षिकाले कक्षामा पढाइरहँदा “हाम्रा युवायुवतीहरु किन बच्चा पाउन मन गर्दैनन् होला” भनेर प्रश्न गर्दा सबै बिद्यार्थीहरु गलल्ल हाँसेका थिए।अनि उनले बिद्यार्थीहरु तर्फ फर्केर “के हाँस्छौ नि, भरे खुरुक्क गएर बच्चा पाउने मेलो गर्नु” भनेकि थिइन, अनि झन ठूलो हाँसो फैलिएको थियो।

अंगुर फार्मपछि हामी रिजर्भ्वायरले बनेको ठूलो तलाउको किनारामा पुग्यौँ। तलाउ निकै रमणिय रहेछ।त्यहाँ नदिलाई बाँध बाँधेर बिजुली निकालिएको रहेछ। त्यहाँबाट ६०० मेगावाट बिजुली निस्कँदो रहेछ।बाँधको उचाई मात्रै झण्डै ३०० मिटर रहेछ, अनि पुरै माटो पुरेर बनाइएको। तर खै के कारणले हो बाँधसम्म चाहिँ हामीलाई देखाउन लगिएन। त्यो बेला नेपालको सबैभन्दा टूलो जलबिद्युत आयोजना ६० मेगावाटको त्रिशुली भनेर सुनिएको थियोे । त्यसको दश गुना बढि क्षमताको पावर प्लाण्ट रहेछ त्यो।

त्यो तलाउको किनारको एक छेउमा केही युरोपियन मुलका मानिसहरु लुगा खोलेर बालुवामा सुतेर घाम तापेर मज्जा लिइरहेका थिए। तर स्थानियहरु चाँहि थिएनन्। हामीलाई हाम्रो चालकले “फेरि कस्ता यिनिहरु, नाङ्गै अंग प्रदर्शन सक्छन्, छीः छिः” भन्यो। हाम्रा शिक्षिकाहरु पनि लुगा खोलेर घाम ताप्न तम्सिएका थिए,  तर छिट्टै  फर्कनुपर्ने भएकोले भ्याएनन्।

त्यो तलाउको किनारामा घाम ताप्ने युरोपियन मुलका मानिसहरु कसरी देखिए भनेर मलाई जिज्ञाशा जाग्यो। हाम्रो चालकले सबै ‘नेम्ची'(रुसि भाषामा जर्मनहरुलाई नेम्ची भनिन्छ) हुन् भन्यो। यसले झन् खुल्दुली बढायो,जर्मनीबाट हज्जारौँ किलोमिटरको यो बिरानो भूमिमा जर्मनहरु कसरी आइपुगे, भनेर।

पछि बुझ्दा थाहा भयो कि त्यस तलाउको किनारामा त छुट्टै एउटा जर्मन बस्ति नै पो रहेछ। रुसकी निकै शक्तिशाली सम्राज्ञी क्याथेरिना द्वितीया जर्मन मूलकी थिइन्।त्यतिबेला जर्मनीमा धेरै दुख रहेछ। त्यसैबेला उनले केही जर्मनहरुलाई त्यहाँ बसोबास गराएकी रहिछन्।अहिले सुने अनुसार धेरै जसो जर्मनहरु आफ्नो पुर्ख्यौली थलो जर्मनी नै फर्किने क्रममा छन् रे।

एशियामा भएका ऐतिहासिक उथलपुथलको भूमिमध्य एशियाको भ्रमणको रोचकता यहाँ एउटा सामान्य जिज्ञाशुले गरेको बर्णन भन्दा निकै बढी रोचक छ। ‘अलेक्सान्द्र माकिदोन्स्की’ (अलेक्जेन्डर द ग्रेटको रुसी भाषामा भनिने नाम), चेङ्गेस खान, बाबर, टिमुर, अनि सिल्क रोडका बारेमा सुनेका वा स्कूलका पाठ्यपुस्तकमा पढेका धमिला सम्झनामा रहेका कथाहरुको भूमिमा आएर आफैंमा प्रत्यक्ष अनुभुती गर्न पाउनु निकै रोमाञ्चक थियो।सन्जोगले यो तलाउ भएको ठाँउसम्म आइपुगेर बिश्व बिजेता बन्न हिँडेका अलेक्जेण्डर द ग्रेटले अब उत्तर तिर गएर केहि काम छैन भनेर दक्षिण दिसामा भारत तर्फको यात्र शुरु गरेका थिए रे।  (क्रमश…)

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ३१, २०७९