प्रदेश २ समाचार हेडलाईन न्युज

जगदम्बा स्टिलमा टंकी बिस्फोट : दुई जनाको घटनास्थलमै मृत्यु, चार घाइते, १ बेपत्ता

सुनकाेशी न्युज
२०७८ असार ५ गते शनिबार
सिमरा, बारा । सिमरामा रहेको जगदम्बा स्टिलमा बिस्फोट हुदा काम गरिरहेका दुई मजदुरको मृत्यु भएको छ। घटनामा अन्य चार जना घाइते भएका छन् ।जसमध्ये १ जनाको अवस्था गम्भीर रहेको घटनाका प्रत्यक्षदर्शी घाइतेले बताएका छन् ।

मृत्यु हुनेका रामनाथ र प्रदिप नाम गरेका दुई भारतीय नागरिक रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। उनीहरूको लास बिस्फोटसँगै टंकीमै टासिंएको थियोे ।

घटनामा गम्भीर घाइते एक भारतीय नागरिकको बीरगंजमा उपचार भईरहेकाे छ भने अन्य तीनजना घाइतेको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको छ।

घटनामा अन्य १ जना हराइरहेका छन् । घटनाका प्रत्यक्षदर्शीले बताए अनुसार उनको टंकीभित्र खसेर जलेर मृत्यु भएको आशंका गरिएको छ।
घाइतेमध्ये ईन्द्र प्रसाद अधिकारी, नवराज चाैलागाई र नाम नखुलेको १जनाकाे तराई अस्पतालमा उपचार भइरहेको छ।घाइतेको उपचारमा उद्योगले चासोको नदेखिएको घाइतेको गुनासो छ।

उद्योगभित्र रहेको फलाम पगाल्न प्रयोग हुने फार्नेस आयलकाे टंकी वेल्डिङ गरेर प्वाल टाल्ने क्रममा बिस्फोट हुँदा दुर्घटना भएको विस्फोटमा भागेर बाच्न सफल भएका मजदुरले बताए ।

राेलिङ मिलहरूमा प्रयोग गरिने यस्तो लिक्विडकाे टंकीमा बेलाबेलामा प्वाल परेर लिकेज हुन्छ । त्यसैले त्यसलाई वेल्डिङ गरेर प्वाल टालिरहनु पर्छ। टंकी खाली गरेर टाल्ने काम गरिन्छ । तर उद्योगको लापरबाहीका कारण भरिएको टंकीमा वेल्डिङ गर्न लगाइयो र दुर्घटना भयो । यसमा उद्योगकाे चरम लापरवाही रहेको ट्रेड युनियनका नेता बेनी तिमल्सिनाले सुनकोसी न्युजलाई बताउनुभयो ।

स्टिल राेलिङ मिलहरूमा यस्ता घटना बारम्बार हुने गरेका छन् । केही समयपहिला पनि भगवती राेलिङ मिल सिमरामै यस्तै काममा विस्फोट हुदा दुई मजदुरको घटनास्थलमै ज्यान गएको थियो ।

बारम्बार उहीखाले दुर्घटना दाेहाेरिदा पनि उद्योगले लापरवाही गरेर मजदुरलाई जाेखिममा पार्ने काम अपराधी मनसायबाट प्रेरित भएको हुनसक्ने माओवादी नेता राजन पाैडेलले बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, असार ५, २०७८