शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

लकडाउन खुकुलो बनाइयो, मास्क लगाएर हिड्न र केही निजी सवारीसाधन चलाउन पाइने

सुनकाेशी न्युज
२०७८ जेठ ३० गते आइतबार
काठमाडौं । काठमाडौं । आज काठमाडाौ उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । आज काठमाडौं, भक्तपुर र ललितपर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।

यसअघि, जेठ ३१ गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै केही खुकुलो बनाइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । ‘‘पछिल्लो समय कोरोना संक्रमण र मृत्युदर घटेको छ । तर, संक्रमणको जोखिम भने घटेको छैन् । त्यसैले निषेधाज्ञा थप गरेका हौँ । निषेधाज्ञाको मोडालिटी खुकुलो बनाइएको छ,” उनले भने ।

जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खुल्दै आएका छन् । अब बिहान ११ बजेसम्म खोल्न दिइनेछ । विकास निर्माणका कामलाई स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढाउन दिइनेछ ।

बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी–साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय गरिएको छ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । सार्वजनिक सवारी–साधनको हकमा पहिलाकै मोडालिटी रहेको छ । मास्क लगाएर हिँड्डुुल गर्न दिइनेछ ।

व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार, पसल खुला गर्ने नयाँ नियम जारी गरिएको छ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय, बारअनुसार खोल्न दिइने गरी तोकिएको छ ।

‘‘उपत्यकाको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ,” प्रजिअ निरौलाले भने, ‘‘खेती गर्ने महिना भएकाले यसबारे सहजीकरण गरिने निर्णय गरेका छौँ । जसअन्तर्गत बिउ, मल ढुवानी र स्वास्थ्य मापदण्ड पालना गरी कृषि खेती गर्न दिइनेछ ।”

प्रशासनका अधिकारीका अनुसार घट्दो संक्रमण र बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञामा खुकुलो प्रावधान ल्याइएको हो । डेढ महिनाअघिदेखिको निषेधाज्ञाले प्रभावित भएको आम जनगुनासो बढ्दै आएको थियो ।

 

प्रकाशित मिति: आइतवार, जेष्ठ ३०, २०७८