बागमती समाचार स्थानीय हेडलाईन न्युज

खोपकाण्डमा माओवादी केन्द्रको आक्रोश, दोषिलाई संक्रामक रोग ऐनअनुसार कारबाही गर्न माग

सुनकोशी न्युज
२०७८ जेठ २९ गते शनिबार
बुढानिलकण्ठ । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलले ६० देखि ६४ वर्षका ज्यष्ठ नागरिकलाई लगाउनुपर्ने कोरोना बिरुद्धको खोप आफ्ना कार्यकर्तालाई लगाएको र त्यसको ढाकछोप गर्न खोज्दा स्थानीय जनतालाई प्रहरी लगाएर दमन गरेको घटनाकोे नेकपा (माओवादी केन्द्र) ले बिरोध गरेको छ ।

माओवादी केन्द्रले बुढानिलकण्ठमा बनाएको कोरोना नियन्त्रण सहयोग समितिका इन्चार्ज तथा संयोजकले शनिबार एक विज्ञप्ती जारी गर्दै बुढानिलकण्ठका जनप्रतिनिधिहरुको बद्मासीको बिरोध गरेका हुन् । जनतालाई लगाउनुपर्ने १००० वटा खोप १३४ वटा लगाएपछि सकियो भन्दै मेयर, प्रदेश साँसद दिपक निरौला र वडाध्यक्षहरुले आफ्ना आफन्त र कार्यकर्तालाई लगाएका थिए ।

बालउद्धार र गणेश माविमा बुढाबुढीलाई लाइनमा लगाएर नगरपालिका मेयरको कार्यकक्ष अघिल्तिर मेयरको प्रत्यक्ष निगरानीमा ओली पक्षीय एमालेका कार्यकर्तालाई खोप लगाइएको थियो । घटनाको सुइको पाएपछि स्थानीय जनता ओइरिएर नगरपालिका घेराउ गरेका थिए । यसबारे सोध्दा मेयरले आलटाले जवाफ दिएपछि जनता आक्रोशित भएका थिए । तर योजनावद्ध दमनको मनसायमा रहेका मेयरले करिब ३ सय सशस्त्र प्रहरी लगाएर जनतालाई दमन गर्न लगाएका थिए ।

उक्त घटनाको घोर निन्दा गर्दै माओवादी केन्द्रले चेतावनीयुक्त बिज्ञप्ती जारी गरेको छ । हेरौं विज्ञप्तीको पूर्णपाठ –

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

कोरोना नियन्त्रण सहयोग समिति

बुढानिलकण्ठ नगरक समिति, काठमाण्डौं ।

मिति ः २०७८ जेष्ठ २९ गते शनिबार

 प्रेस विज्ञप्ती

बुढानिलकण्ठ नगरपालिकामा यही मिति २०७८ जेठ २५ गतेदेखि संचालन भएको कोरोना (कोभडि–१९) बिरुद्धको चाइनिज भेरोसिल खोप कार्यक्रममा अधिकारप्राप्त जनप्रतिनिधिहरुबाटै भएको व्यापक अनियमितता र बद्मासीप्रति नेपाल क्म्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको छ । देशैभरि कोरोना महामारीका कारण लाखौं मानिस आक्रान्त छन् । ८ हजार ३ सयभन्दा बढीको ज्यान गइसकेको छ । कोरोना माहामारीको अहिलेसम्म कुनै औषधि बनेको छैन । रोकथामको लगि बनेको भ्याक्सीन नेपाल जस्तो विपन्न देशले अरु देशको अनुदानमा भरपर्नु पर्ने अवस्था छ । पहिलो चरणमा भारतले दिएको कोभिशिल्ड खोपको दोस्रो मात्रा सरकारले ल्याउन नसकेपछि मानिसमा सन्त्रास छाएकै छ । पछिल्लो समय चीन सरकारले अनुदानमा दिएको १० लाख भेरोसेल भ्याक्सीन पहिलो चरणमा ६० देखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई लगाउने निर्णय अनुसार ज्येष्ठ २५, २६ र २७ गते खोप लगाउने काम हुनुपर्ने हो । तर बुढानिलकण्ठ नगरपालिकाका मेयर एवं एमालेका ओली पक्षीय कार्यकर्ता उद्धव खरेलले तोकिएको मापदण्डको खिल्ली उडाउदै तोकिएका खोप केन्द्रमा घण्टौं घाममा बुढाबुढीलाई उभ्याएर खोपै नलगाई घर फर्काउने र त्यही समयमा नगरपालिका कार्यलयमा आफ्ना कार्यकर्ता र तिनका आफन्तलाई बोलाएर कम उमेर समूहका मानिसलाई समेत खोप लगाउने कार्य गरेको सप्रमाण फेला परेको छ । बुढानिलकण्ठमा तोकिएका तीनवटा खोप केन्द्रहरु– बालउद्धार मावि, कपन, नेशनल आइडियल मावि, मण्डीखटार र गणेश मावि बुढानिलकण्ठमा खोप लगाउनुपर्नेमा ती केन्द्रहरुमा पठाइएका खोपहरु फिर्ता लगेर कार्यालयमा कार्यकर्तालाई लगाइएको पाइएको छ । त्यसैगरी २८ गते शुक्रबार बालउद्धार माविमा पठाइएको ५ सयवटा खोपमध्य ३ बजेसम्म केन्द्रमा १३४ वटा मात्रै खोप लगाइएको र बाँकि नगरपालिकामा फिर्ता लगिएको छ । यसरी बचत रहेको खोप मेयर स्वयम् बसेर आफ्ना कार्यकर्ता र आफन्तलाई लुकाइछिपाई लगाएको जानकारी बाहिरिएपछि नगरपालिका कार्यालय पुगेका जनताले एमालेका २५ देखि ४४ वर्ष उमेरका मानिसहरुले लाइन लागेर धमाधम खोप लगाइरहेको, नाम र उमेर लेखिएका खोप कार्ड, प्रयोग गरिएका भ्याक्सीनका हज्जारौं खालि बट्टालगायत भेटे र त्यस विषयमा मेयर र स्वास्थ्य प्रमुखसँग सोधपुछ गर्दा जवाफ दिनुको सट्टा करिब ३ सय सशस्त्र प्रहरी बल बोलाएर प्रश्नकर्तामाथि दमन गरिएको घटना असाध्यै निन्दीय, पासविक, मानवताबिरोधी, समाजविरोधी र भत्र्सनायोग्य छ । जनताको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सामाग्री भेरोसिल खोपमाथि जनताको करबाट पालिएका जनप्रतिनिधिहरुबाटै भएको यो ब्रम्हलुट र अनियमितताको माओवादी केन्द्र घोर भत्र्सना गर्दछ । यसरी जनताको अमूल्य मतबाट प्राप्त अधिकार दुरुपयोग गरी जनताको जीवनसँग खेलवाड गर्ने मेयर, वडाध्यक्षहरु र स्वास्थ्य प्रमुखलाई कानुनी कारबाहीको दायरामा ल्याई सशक्त कारबाही गरिनुपर्छ भन्ने जोडदार माग गर्दछ । कानुन र कर्तव्यको कार्यन्वयन गर्ने जिम्मेवार निकायबाटै यसरी कानुन र विधिको नाङ्गो रुपमा भएको उल्लंघनले समाजमा उत्पन्न हुनसक्ने अराजक परिस्थितिको भागिदार सरकार र सरकारको नेतृत्व गरिरहेका पार्टी र तिनका नेताले बन्नुपर्ने छ । यस्ता जनप्रतिनिधिको भेषमा जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने भ्रष्ट अपराधी तत्वहरुलाई माहामारी तथा संक्रामक रोग सम्वन्धी कानुनको दायराभित्र ल्याई तुरुन्तै कारबाही गरियोस् भन्ने जोडदार माग गर्दछौं । अगामी दिनमा लगाइने कोरोना बिरुद्धको खोप कार्यक्रम तोकिएको मापदण्डमा, कानुन र विधिको पालना गरेर सम्पन्न गर्नको लागि नगरपालिकामा रहेको ओलीपक्षीय एमालेको एकदलीय एकाधिकार अन्त्य गर्न जरुरी छ । यसका लागि कोरोना माहामारी अवधिभरिका लागि नगरपालिकाबाट कोरोना माहामारी नियन्त्रणका लागि गरिने हरेक कामलाई पारदर्शी, सहज र सर्वपक्षीय बनाउन यथाशीघ्र नगपालिकास्तरीय सर्वदलीय संयन्त्र बनाएर काम गर्न जोडदार माग गर्दछौं । अन्यथा, जनतामाथि गरिएको यो अत्याचारका कारण जनताको धैर्यको बाँध टुट्न गई आउने संघर्षको बाढीले निम्त्याउने परिणमको भागिदार नगरपालिकाका जनप्रतिनिधि लगायत पदाधिकारीहरु नै हुने जानकारी गराउन चाहन्छौं । कानुन र विधिसम्मत जनताले पाउनुपर्ने खोप लगायतका सबै अधिकार प्राप्तीको लडाईमा माओवादी केन्द्र सधैं जनताको साथमा रहेको र रहिरहने प्रतिवद्धता जाहेर गर्दछौं ।

 

बिदुर खड्का                                                                                                          ठाकुर खकुरेल

ईन्चार्ज                                                                                                                     संयोजक

प्रकाशित मिति: शनिबार, जेष्ठ २९, २०७८