समाचार हेडलाईन न्युज

भुषालकाे खुलासा : एमाले – माओवादी अलग्याउने योजना २०७७ वैशाख ८ अगावै बनेको थियो

सुनकाेशी न्युज
२०७८ जेठ १५ गते शानिबार
काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुषालले वर्तमान राजनीतिक परिघटनाकाे योजना २०७७ वैशाख ८ अगावै बनाइएको र त्याे आफूलाई त्यहीबेला थाहा भएको खुलासा गरेका छन् ।

अहिले १ वर्षको राजनीतिक घटनाक्रमले त्यो बेला भनिईका सबै योजना हुबहु कार्यन्वयन भएको देखिएको उनलेे बताए ।

सामाजिक संजालमा स्टाटस लेख्दै उनलेे यो खुलासा गरेका हुन्। २०७७ वैशाख ८ गते दलबिभाजनकाे अध्यादेश समेत त्यही योजनामा आएको थियोे । योजनामा एमाले र माओवादी केन्द्रलाई अलग्याउने, संसद विघटन गरेर संविधान समेत विघटन गर्ने योजना रहेको बताएका छन् । यी काममा ओलीलाई प्रयोग गर्ने र उनको उपादेयतम सकिएपछि कठपुतली सरकार बनाउने योजना रहेको उनलेे लेखेका छन् ।
उनको भनाइ यस्तो छ :

मेरो स्पष्टिकरणः
म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिन । दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ । त्यस्तो विश्लेषण केहि भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो । तर पोहोर सालको बैसाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु । उनले भनेका थिए ः नेकपाको विवाद समाधान हुँदैन । अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ । संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ । त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ ।
घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।
गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १५, २०७८