समाचार हेडलाईन न्युज

धाैलागिरि हिमालमा १५ वर्षअघि हराएको हेलिकप्टर भेटियो, मानव अवशेष नभएको पुष्टि

सुनकाेशी न्युज, २०७८ वैशाख १७ गते शुक्रबार 

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले नेपाली सेनाको हिमाल सफाइ अभियान २०२१ को टोलीले वैशाख १५ गते बुधबार धौलागिरि आधार शिवरमा हेलिकप्टरको भग्नावशेष फेला पारेको जानकारी दिएए । सन् २००६ मा धौलागिरि हिमाल क्षेत्रमा दुर्घटना भएको एयर डाइनेस्टीको नाइन एन एसीआर कल साइन भएको हेलिकप्टरको भग्नावशेष हुन सक्ने नेपाली सेनाको भनाइ छ ।

३ सेप्टेम्बर २००६ मा बिरामी लिन धौलागिरि आधार शिविरमा पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गर्नुपर्‍यो। एयर डाइनेस्टी हेली सर्भिसका प्रबन्ध निर्देशक पवित्र कुमार कार्कीका अनुसार त्यस क्रममा हेलिकोप्टर उपयुक्त ठाउँमा अवतरण हुन सकेन र दुर्घटनामा पर्‍यो । दुर्घटना भयानक थिएन, केवल फोर्स ल्याण्डिङ थियो । सोही कारण हेलिकोप्टर उडाइरहेका पाइलट सुरक्षित बाहिर निस्किए । उनले यसबारे काठमाडौंमा खबर गरे र दोस्रो हेलिकोप्टर पठाएर उनको उद्धार गरियो । हेलिकोप्टरमा उनी एक्लै थिए ।

सोहीकारण यो दुर्घटनामा मानवीय क्षति भएको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले राखेको तथ्यांक अनुसार यो दिन भएको दुर्घटनामा मानवीय क्षति शून्य र एक जनाको उद्धार भएको देखिएको छ । कार्कीका अनुसार यो हेलिकोप्टर दुर्घटनापछि हराएको होइन । दुर्घटनामा परिसकेपछि यसलाई मर्मत गरी पुनः उडाउन सकिन्छ की भनेर अध्ययन पनि भएको थियो । त्यो सम्भव नभएपछि कम्पनीले बिमा दाबी गर्‍यो । कम्पनीले बिमा बापतको रकम पाएपछि हेलिकोप्टरलाई बिमा कम्पनीले जिम्मा लियो । निकाल्न सकिने उपकरणहरू निकालियो र बाहिर ल्याइयो । हिमालबाट उठाएर ल्याउन नसक्ने वस्तुहरु त्यही छाडियो ।

सोही हेलिकोप्टरको भग्नावशेष नै नेपाली सेनाले फेला पारेको हो । नेपाली सोका अनुसार धौलागिरिमा दुई मानव अवशेष समेत भेटिएको छ । ती अवशेषको कुनै सम्बन्ध हेलिकोप्टरसँग भने छैन । सेनाका अनुसार मानव अवशेष भेटिएको स्थानबाट १२ सय मिटरको फरकमा हेलिकोप्टरको अवशेष भेटिएको हो । ती शवहरु आरोहणका दौरान दुर्घटनामा परेका आरोहीको हुन सक्ने कार्कीले बताए । सेनाले समेत मृतकको पहिचान नभएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, बैशाख १७, २०७८