मुख्य समाचार

जुनारमा रमाउने झिँगालाई ‘लास्ट डिनर’, व्यवस्थापनमा सफलता पाएको जुनार सुपरजोनको ठहर


खनियाखर्क । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको सिन्धुलीको जुनारमा देखापरेको फल कुहाउने औंसा पार्ने झिगा चाईनिज सिट्रस फ्लाई (व्याक्ट्रोसेरा मिन्याक्स) नियन्त्रणमा सफलता प्राप्त भएको छ ।

सुन्तलाजात फलफूल (जुनार) मा देखापरेको फल कुहाउने औंसा पार्ने झिगा चाईनिज सिट्रस फ्लाई (व्याक्ट्रोसेरा मिन्याक्स) व्यवस्थापनका लागि क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम गत वर्ष परीक्षणको रुपमा अपनाइएको थियो । सो कार्यक्रम सफल भएपछि २०७६ बैशाखदेखि साउनसम्म जुनार सुपरजोन सिन्धुलीले सिन्धुलीका सुपरजोन क्षेत्रका जुनार बगैचा धनीहरुको साझदोरीमा क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको थियो । क्षेत्रगत कीरा नियन्त्रण भन्नाले कीराको जीवनी र आनीवानीमा आधारित व्यवस्थापन पद्दतिमा हो । यस पद्दतिमा प्रोटिन बेट (ग्रेट फ्रुट फ्लाई बेट) स्पोट स्प्रे गरिन्छ । बगैचामा झुल र प्रोटिन बेटको पासो प्रयोग गरिन्छ । जुनार सुपरजोनका प्रमुख देवराज अधिकारीका अनुसार, वयस्क झिँगा कीरा निस्कने समयको अनुगमन गरी प्रोटिन बेटः ग्रेट फ्रुट फ्लाई बेट एक भागमा दुई भाग पानी मिसाई तयार गरिएको घोल ५० मिलिलिटर ०.५ देखि एक वर्ग मिटर क्षेत्रफलमा प्रत्येक तीन फलेको बोटहरुमध्ये एक बोटमा पातको तल्लो भागमा प्रत्येक हप्ता १० देखि १२ पटक स्प्रे गरिएको थियो । साथै कीराले संक्रमित फलहरुबाट निस्कने औंसालाई बगैंचाको जमिन र माटो मुनी अचल अवस्था वा प्युपामा जान नदिन सरसफाई गर्न जुनार सुपरजोनले किसानका बीचमा सचेतना अभियान नै चलाएको थियो । जुनार सुपरजानेका अनुसार, एक हजार १५३ (आठ क्लस्टर) जुनार बगैंचा धनीहरुको बगैंचामा स्प्रे गरिएको थियो । १५ हजार ५४० बोट जुनारमा (पाँच हजार १८० स्पोट) २६ जना स्प्रेकर्ताले स्प्रे गरेका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६