अर्थ/विजनेस समाचार हेडलाईन न्युज

बारा डिपोले तेल नदिएपछि सिन्धुलीका पम्पहरू रित्तै

सुनकोशी न्युज
२०७७ फाल्गुण ५ गते बुधबार
काठमाण्डौुं । नेपाल आयल निगमको बारा डिपोबाट इन्धन नपाएपछि सिन्धुलीका पम्पहरू तेलविहीन बनेका छन् । धनुषा महेन्द्रनगरका ट्यांकरचालक तथा सञ्चालकहरूले सिन्धुली, रामेछापलगायतका जिल्लामा तेल नदिन बारा डिपोको आपूर्ति शाखालाई घुस खुवाएको सिन्धुलीका पम्प व्यवसायीले बताए ।

सोही कारण अमलेखगन्ज डिपोले तेल नदिएपछि सिन्धुलीका पेट्रोलपम्पहरू रित्तो भएका हुन् । ट्यांकरचालकले रकम उठाएर निगमको आपूर्ति शाखालाई बुझाएको पम्प सञ्चालकले भने । उनले भने, ‘ट्यांकरचालकले सिन्धुली, रामेछापलगायतका पहाडी जिल्लाहरूमा महेन्द्रनगरबाटै तेल उठाउने बाध्यकारी व्यवस्था मिलाउन भन्दै आपूर्ति शाखामा बुझाउन रकम संकलन गरेको जानकारी पाएका छौँ ।’

महेन्द्रनगरबाट तेल उठाउन किन मानेनन् ?
दूरीको हिसाबले सिन्धुलीका पम्प सञ्चालकहरूलाई महेन्द्रनगर धेरै नजिक पर्छ । तर, पम्प सञ्चालकहरूले अमलेखगन्जबाट तेल उठाउन पाउनुपर्ने माग गर्दै आएका छन् । महेन्द्रनगर डिपोबाट तेल भर्न सिन्धुलीका पम्प सञ्चालकहरूले अस्वीकार गरेका छन् ।

महेन्द्रनगरमा डिपोका कर्मचारीहरूले ५०/६० लिटर कम भरिदिने गरेको व्यवसायीहरूको आरोप छ । ‘यति हुदाँसम्म पम्प सञ्चालकहरूले सहेकै थिए, तर त्यसपछि पनि ट्यांकरचालकले २ सयदेखि २ सय ५० लिटरसम्म तेल लुकाउने गर्छन्,’ ती सञ्चालकले भने ।

एक ट्यांकरमा करिब ३ सय लिटर तेल अपुग हुन थालेपछि महेन्द्रनगरबाट इन्धन ल्याउन छाडेको ती सञ्चालकले बताए । अन्य जिल्लाका पम्प सञ्चालकहरूले पनि महेन्द्रनगर डिपोबाट तेल उठाउन छोडेपछि बारा डिपोका आपूर्ति शाखालाई प्रभावमा पारेको व्यवसायीहरूले बताए ।

अमलेखगन्ज डिपोलाई सिन्धुलीलगायत केही जिल्लाका पम्पलाई त्यहाँबाट तेल नदिन परिपत्र आएकाले तेल नदिएको अमलेखगन्ज डिपो आपूर्ति शाखाबाट जवाफ आएको ती पम्प सञ्चालकले बताए ।

आयल निगमको गलत निर्णयले जिल्लाका पम्पहरू तेलविहीन भएको ती सञ्चालकले बताए । आफूहरू अमलेखगन्जबाटै तेल लिन वा उठाउन पाउनुपर्ने मागसहित महेन्द्रनगर नगएको स्थानीय पम्प व्यवसायीहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, फाल्गुन ५, २०७७