समाचार हेडलाईन न्युज

चावहिल आर्कमा आम हड्ताल भव्य रुपमा सफल भएको दाबी

सुनकोसी न्युज
२०७७ माघ २२ गते विहिबार
काठमाण्डौं । केपी ओलीले गरेको असंवैधानिक कु का विरुद्ध नेकपाले आयोजना गरेको आम हड्ताल भव्य रुपमा सफल भएको छ । संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको, संवैधानिक निकायृमा गैरकानुनी नियुक्ती र भ्रष्टाचारको संरक्षण गरेको भन्दै नेकपाले आज आम हड्तालको आयोजना गरेको नेता हरिवोल गजुरेलले बताउनुभयो ।

चावहिल आर्कमा विहानैदेखि हड्तालको नेतृत्व गरिरहुनभएका गजुरेलले आन्दोलन गर्न पाउने जनताको अधिकारलाई समेत ओली सरकारले कुण्ठित पार्न खोजेको बताउनुभयो । सरकारको गृहमन्त्री भएका बेला हिजोको इतिहास भूलेर अध्यक्ष प्रचण्डलाई पक्रिन निर्देशन दिने रामबहादुर थापा बादलले भोलि सरकारबाट बाहिरिएका दिन के हालत होला भनेर हेक्का राख्नुपर्ने चेतावनी दिनुभयो । आन्दोलनको इतिहास बोकेका बादल जस्ता नेता यसरी ओलीको बदमासीको साक्षी र मतियार बन्न नहुने उहाँले बताउनुभयो ।

चावहिलमा विहान ५ः३० बजेदेखि शान्तिपूर्ण रुपमा सुरुभएको आम हड्तामा सुरुमा थोरै संख्यामा रहेका आन्दोलनकारीलाई धरपकड गरेर चारजनालाई गिरफ्तार गरेको थियो । नेकपाका केन्द्रीय सदस्य कृष्ण केसी, काठमाण्डौं जिल्ला सदस्य उद्धव चौलागाई, कमला गौतम र राजेश लामालाई सुरुमै प्रहरीले लछारपछार पारेर पक्रेको थियो । त्यसपछि तितरबिरत भएको आन्दोलन गणेश मन्दिरमा जम्मा भई नाराजुलुससहित चावहिल चो्कामा पुगेको थियो । त्यसक्रममा प्रहरीसँग सामान्य विवाद भएपनि जुलुस चुच्चेपाटी, ओम अस्पतालअघिको पुल र मित्रपार्कसम्म जुलुस गरेको थियो ।

धक्कापक्कीको बाबजुत चावहिलको बन्द कार्यक्रम भव्यरुपमा सफल भएको क्षेत्र नं ४ का संघर्ष समितिका संयोजक बिदुर खड्काले जानकारी दिनुभयो । आन्दोलनमा सहभागीलाई दालमोट, चिउरा र पानीको व्यवस्था गरिएको खड्काले बताउनुभयो ।

चावहिलबाट गिरफ्तार भएका चारैजनालई रानीवनसिथत नेपाल प्रहरीको २ नं. गणमा राखिएको र साँझ रिहाई गरिएको गणपति एसपी चक्र जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहिबार, माघ २२, २०७७