शिक्षा/स्वास्थ्य

पोखरामा फैलियो डेंगु, एक साताभित्र २१ जनामा संक्रमण

पोखरा महानगर–८ मा आठ जना, वडा ९ मा पाँच, वडा १७ मा एक, वडा ४ मा एक, वडा १० मा एक, वडा २५ मा एक, अन्य जिल्लाबाट आएका चार जना गरी कुल २१ जनामा डेंगु संक्रमण भेटिएको डा. गौतमले बताए ।

संक्रमितमध्ये गण्डकी मेडिकल कलेज (जीएमसी) मा आठ, फेवा सिटीमा आठ, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक र अन्य अस्पतालमा चार जनाको उपचार भइरहेको छ ।

‘पोखरामा गत वर्ष डेंगुको टाइप २ भाइरस देखिएको थियो । अहिले उनीहरुको रगतको सेरोटाइप जाँचका लागि काठमाडौं पठाएका छौं,’ उनले भने, ‘टाइप १ देखि टाइप ४ सम्मको भाइरस डेंगुमा हुन्छ । १ र २ नर्मल हुन्छ भने टाईप ३ र ४ खतरा हुन्छ ।’

कसरी सर्छ डेंगु ?

रोगबाट बच्न एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट बच्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । यो लामखुट्टेले दिउँसोको समयमा मात्र टोक्ने गर्छ । डेंगु रोग नियन्त्रणको प्रमुख उपाय लामखुट्टेको लार्भा र प्युपा बस्ने बासस्थान नष्ट गर्नु नै रहेको जानकारी डा. गौतमले दिए ।

‘डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो जातको लामखुट्टेले दिनमा मात्र टोक्ने गर्छ,’ डाक्टर गौतमले भने, ‘भाइरसबाट सर्ने यो रोगको खोप तथा खास उपचार नै छैन ।’

डेंगुको प्रकोप देखिएपछि स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयले सरकारी तथा निजी अस्पतालबाट प्रत्येक दिन त्यस्ता रोगीको तथ्याङ्क लिने र लामखुट्टे धपाउने अभियान शुरु गरिसकेको छ ।
निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले शुक्रबारदेखि नै पोखरा नगर क्षेत्रमा लामखुट्टेको बासस्थान खोज, नष्ट गर्ने र सचेतना अभियान शुरु गरिएको बताए ।

उनका अनुसार मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जीएमसी) का मेडिकलमा अध्ययनरत विद्यार्थीसहितको टोलीले शुक्रबार पोखरा–८ र ९ मा लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने काम गर्यो ।

डेंगुका लक्षण र बच्ने उपाय

डेंगु लागेपछि देखिने लक्षणमा उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, छालामा रगत जमेको धब्वाहरु देखा पर्ने, नाक, गिँजा र शरीरका अन्य अंगबाट रगत बग्नेलगायतका चिन्ह र लक्षण देखापर्ने डा. गौतम बताउँछन् ।

डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकाले यसको खासै उपचार छैन् । डेंगु ज्वरोबाट हुन सक्ने जटिलताबाट बच्न तुरुन्त स्वास्थ्य जाँच र उपचारका लागि स्वास्थ्य संस्थामा जानुको विकल्प छैन ।

लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो । त्यसका लागि दिउँसोको समयमा अनावश्यक रुपमा नाङ्गो जीउ बाहिर ननिस्कने, जमेको पानीमा यो जातको लामखुट्टले फुल पार्ने भएकाले आफू बस्ने वरिपरी फालिएका खाली बोत्तल, अलकत्रा तथा मट्टीतेलका खाली ड्रम, पुराना टायरलगायतमा पानी जम्न नदिने, पानीट्यांकीमा लामखुट्टे बस्न नदिने, गमलामा पानी जम्न नदिने, भाँडामा पानी जम्न नदिई घोप्ट्याएर राख्ने, लामखुट्टे टोकाइबाट बच्न मल्हम लगाउन चिकित्सकले सल्लाह दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६