समाचार हेडलाईन न्युज

सगरमाथाको उचाइ ८६ से.मि. बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर कायम

सुनकोशी न्युज
२०७७ मंसिर २३ गते मंगलबार
काठमाण्डौं । सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ से.मि. बढेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८८४८.८६ मिटर रहेको सार्वजनिक घोषणा गरेका हुन् ।

नेपाल र चीन सरकारको टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो । मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो ।

सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।

सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । यही उचाइलाई सबैले मान्दै आए पनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमत भएको थियो ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २३, २०७७