समाचार हेडलाईन न्युज

ओलीबिनै सुरु भयो नेकपा स्थायी समितिको बैठक, आखिर बैठकसँग किन डराए ओली ?

सुनकोशी न्युज
२०७७ मंसिर २१ गते आइतबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा भरखरै सुरु भएको बैठकमा सबै नेता पुगे पनिे प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली पुगेका छैनन् ।

अपरान्ह १ बजे सुरु हुने भनिएको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वोय, उपाध्यक्ष र सबै नेता पुगिसक्दा पनि ओली नपुगेपछि बैठक केहीबेर ढिला भएको थियो । तर ओली आउदै गर्लान् भन्ने विश्वासका साथ बैठक सुरु भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले बताए ।

आजको स्थायी कमिटि बैठकमा अध्यक्षद्वयले यसअघि सचिवालय बैठकमा पेश गरेका दुई छुट्टाछुट्टै प्रतिवेदनमा छलफल हुने कार्यसुरुची रहेको छ । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा सुरु बैठकमा ओलीबाहेक अरु अधिकांश नेताहरु सहभागी भएका छन् ।

स्थायी कमिटी बैठक बस्न आवश्यक नभएको बताएका ओली आजको बैठकमा सहभागी छैनन् । । उनले प्रतिवेदनहरु स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल हुन नदिने अड्डि लिएका थिए । आजको बैठकमा प्रतिवेदनहरु वितरण गर्ने तयारी छ । ओलीको सचिवालयले दूरी कायम गर्न असम्भव भएकाले आजको बैठकमा सहभागी नभएको बाहाना बनाएको छ ।

केन्द्रीय समिति, स्थायी समिति र सचिवालय कुनै पनि कमिटीलाई नमान्ने, कुनै पनि पार्टी बैठकका निर्णयलाई नमान्ने र पार्टीका कुनै पनि विधिपद्यतिलाई आफूले नमान्ने अडान लिइरहेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टीको अस्तित्वलाई नै स्वीकार नगरेको बताइरहेका छन् ।

उनी लगायत उनका गुटका नेताहरुले समेत पार्टीको कमिटिहरु र निर्णयलाई नमान्ने नस्विकार्ने सार्वजनिक रुपमै बताइरहँदा पार्टीका कार्यकारी अध्यक्ष, सचिवालय, स्थायी कमिटि र केन्द्रीय कमिटिले कस्तो निर्णय गर्छ, आम कार्यकता र जनताको चासोको विषय बनेको छ ।

पार्टीमा बहुमतको निर्णय, बैठक र पद्यति सबैका लागि वाध्यकारी हुनेहुँदा यति कुरा नमानेपछि उक्त व्यक्ति पार्टीको सदस्य समेत रहन नसक्ने कुरा नेकपाको विधानमा स्पष्ट उल्लेख छ ।

तर नेकपाको बहुमतपक्ष ओली गुटको यो बलमिच्याईँ सहिरहेको छ । यसले कम्युनिष्ट पार्टी सिद्धान्त, विधि, पद्यति र प्रणालीमा चल्छ भन्ने आदर्शको समेत बदनाम भएको एक स्थायी समिति सदस्यले सुनकोशी न्युजसँग गुनासो गरेका छन् ।

प्रकाशित मिति: आइतवार, मंसिर २१, २०७७