समाचार हेडलाईन न्युज

चितवनमा पाण्डेमाथि हुलहुज्जत गर्नेलाई कारबाहीको माग

सुनकोशी न्युज
२०७७ मंसिर ७ गते आइतबार
काठमाण्डौं । नेकपा स्थायी समिति सदस्य तथा सांसद सुरेन्द्र पाण्डेले आफूमाथि आक्रमण प्रयास गर्ने तथा सार्वजनिक कार्यक्रममा हुलहुज्जत गरी गुण्डागर्दी सशक्त कारबाहीको माग गरेका छन् ।

पार्टीका बरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले उक्त घटनाको भत्र्सना गर्दै यस्ता कार्य तुरन्त रोक्न र घटनामा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

घटनाबारे सुरेन्द्र पाण्डेले बिस्तृतमा मिडियालई बताएका छन् । उनले भनेका छन् – ‘मैले बैठकको उदघाटन सत्रमा बोल्ने क्रममा पार्टीको कार्यदलले कसरी काम गर्‍यो भन्ने कुराहरु राखें । पुष्पलाल होस् या मदन भण्डारीको नाममा, कुनै पनि फाउन्डेसनहरु नबनाउने, त्यसले पार्टीभित्र गुटबन्दीको आधार बन्यो भन्ने हामी कार्यदलका सबैको सहमति हो भन्ने कुरा मैले राखें । यो कुरा हामीले दस्ताबेजमा लेख्यौं, स्थायी कमिटीले निर्णय गर्‍यो र यो अहिले पार्टीको निर्णय नै भइसक्यो र सबै सदस्यका वीचमा सर्कुलर पुग्या छ । म यिनै कुराहरु भन्दै थिएँ, उनीहरु नारा लगाउन थाले ।’

चितवनमा नेकपा राप्ती नगर कमिटीले आयोजना गरेको बैठकमा ओली समूहका कार्यकर्ताले स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री पाण्डेको सम्बोधन बिथोल्दै अभद्र व्यवहार गर्ने प्रयास गरेका थिए । चितवन– १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पाण्डेले सम्बोधन गरिरहेका वेला ओली समूहका करिब एक दर्जन कार्यकर्ताले नाराबाजी गर्दै बैठक बिथोल्ने प्रयास गरेका थिए ।

उनीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद, जबज जिन्दावाद, केपी ओली जिन्दावाद जस्ता नाराहरु लगाए ।प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः जिल्ला–जिल्लामा विस्तार हुँदै गएको छ । ओली र प्रचण्डले १३ मंसिरमा डाकिएको केन्द्रीय सचिवालय बैठकमा आरोप–प्रत्यारोपसहितको बेग्ला–बेग्लै राजनीतिक दस्ताबेजमा छलफलको तयारी गरिरहेका वेला केन्द्रीय विवाद जिल्ला–जिल्लामा विस्तार हुँदै गएको हो ।

दुवै समूहका नेता–कार्यकर्ता अर्को समूहका नेताविरुद्ध नाराबाजी गर्ने, बेग्ला–बेग्लै भेला गरेर गुट विस्तार र सुदृढ गर्ने तहमा सक्रिय बनेका छन् । चितवनको वीरेन्द्रनगरमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहारको प्रयास भएको छ भने सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले जबजका पक्षमा प्रदेशस्तरीय खेलाडी भेला गरेको छ ।

स्थायी समिति सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्यस्तो हुलहुज्जत बहुदलीय जनवादको कोर्स नै हुन नसक्ने बताएका छन् । ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो,’ भट्टराईले ट्विट गर्दै भनेका छन् ।

उता, घटनापछि नेकपा राप्ती नगर कमिटीले विज्ञप्ति प्रकाशित गरी हुलहुज्जत्त गर्दै नेता पाण्डेविरुद्ध दुव्र्यवहारमा उत्रिने पार्टी कार्यकर्तामाथि कारबाही गर्न जिल्ला कमिटी चितवनसमक्ष माग गरेको छ ।

 

प्रकाशित मिति: आइतवार, मंसिर ७, २०७७