समाचार हेडलाईन न्युज

पार्टी फुटे त्यसको जिम्मेवारी ओलीले लिनुपर्छ : हरिबोल गजुरेल

सुनकोशी न्युज
२०७७ कार्तिक २५ गते मंगलबार
काठमाडौँ । नेकपा भित्रको विवादमा अध्यादेश प्रकरणमा ओलीको चर्को विरोध गरेका हरिबोल गजुरेल प्रधानमन्त्रीको राजीनामा माग्दा त्यसको विपक्षमा उभिन पुगे । हाल स्थायी समितिको निर्णय कार्यान्वयनका सवालमा भने ओलीकै कमजोरी रहेको गजुरेलले दाबी गरेका छन् । यो वा त्यो पक्षमा उभिनेभन्दा पनि आफूले पार्टी विभाजन रोक्न भूमिका खेलिरहेको गजुरेल दाबी गर्छन् । नेकपा विभाजनको डिलमा पुग्नुमा अध्यक्षद्वयकै कमजोरी देख्छन् उनी । पार्टी फुटे समग्र उपलब्धि नै गुम्ने खतरा रहेको  गजुरेलको  दाबी  छ । उनी भन्छन् ‘मिटिङ हुन्छ, छलफल हुन्छ, सहमति पनि हुन्छ । तर फेरि फर्केर पुरानै अवस्थामा पुग्छ ।

पार्टीमा पटक पटक किन यस्तो समस्या आइरहन्छ ? एउटै कुरा किन दोहोरिरहन्छ र बहस भइरहरन्छ ? मेरो बुझाइमा यस्तो हुनुमा नेताहरू आफूतिर नफर्किएकाले हो । एकले अर्कोलाई दोष दिने प्रवृत्ति छ । प्रधानमन्त्रीका केके कमजोरी छन् र अध्यक्ष प्रचण्डका केके कमजोरी छन् भन्ने हामीले प्रस्टै देखेका छौँ ।’ नयाँ पार्टी भइसकेपछि पनि आआफ्नै पुरानै तरिकाले चलाउन खोज्दा समस्या भएको उनको ठम्याई छ ।

‘अघिल्लो पटक केपी शर्मा ओलीले अध्यादेश ल्याउनुभयो । अध्यादेशले पार्टीलाई फुटमा लैजान्छ, अस्थिरता निम्त्याउँछ भनेर पार्टीमा हामीले त्यसको विरोध गर्यौँ । प्रतिवाद गर्यौँ । मैले त्यसको अग्रपङ्क्तिमा रहेर नै विरोध गरेँ । सबैको विरोधपछि उहाँले फिर्ता लिनुभयो । दोस्रो पटक अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने भनेर आउनुभयो । त्यसबेला त्यसो गर्नुहुन्न यसले पार्टी फुटमा लैजान्छ बरु दुईमध्ये एक छोड्नुस्, एक रोज्नुस् भनिदिएको भए सबैलाई ठीक पनि लाग्न सक्थ्यो ।

राष्ट्रियताको मुद्दा उठाएर देश एक ढिक्का भइरहेको अवस्थामा दुवै पद छोड्नुस् भन्दा राम्रो सन्देश जाँदैन भनेर त्यो कुरालाई हामीले साथ दिन सकेनौँ । कारबाही गर्ने र हटाउने कुराले पार्टी विभाजनतिर लान्छ भनेर त्यसलाई पनि रोकियो । र, पछिल्लो समय कार्यदल बन्यो । कार्यदलको रिपोर्ट अनुसार सचिवालय र स्थायी समितिले निर्णय गर्दै नयाँ सिराबाट पार्टी एकताबद्ध भयो । त्यो पछि उहाँहरूका बाध्यता, जटिलता, समस्या होलान्, भित्र केके बहस भएका होलान त्यो अर्को कुरा हो तर बाहिर प्रधानमन्त्रीले मन्त्री राजदूत नियुक्ति गर्दा एकलौटी गर्नुभयो भयो भन्ने देखियो । यस्तो देखिएपछि यो त ओलीमा कस्तो पेलेर जाने प्रवृत्ति रहेछ भन्ने कुरा कार्यकर्ता र जनतामा परिहाल्यो । यस्तो भएपछि हामीले प्रधानमन्त्रीलाई भन्यौँ तपाईंले ‘मिस’ गर्नुभयो । तपाईंका बाध्यता वा अप्ठ्यारा थिएनन् होलान त्यो आफ्नो ठाउँमा छ तर तपाईंको कामले म्यासेज राम्रो गएन भन्यौँ । तपाईंका दुवै पद सुरक्षित भएर नेतृत्व गर्दै हुनुहुन्छ भने व्यवहारबाटै म्यासेज दिन यसलाई करेक्सन गरेर स्थायी समितिको स्प्रिटलाई हुबहु लागू गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौँ ।’

‘अहिले प्रधानमन्त्री धेरै अप्ठ्यारोमा पर्नुभएकोले स्थायी समितिका निर्णय कार्यान्वयनका सवालमा भएका कमजोरी करेक्सन गर्न ओली तयार हुनुपर्छ छ ।’

प्रकाशित मिति: मङ्लबार, कार्तिक २५, २०७७