मुख्य समाचार रोचक विदेश

कसरी हुन्छ अमेरिकी राष्ट्रपतिको निर्वाचन ?

सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
नेपाल वा भारतमा जस्तो निर्वाचन संचालन गर्न अमेरिकामा कुनै सङ्घीय वा केन्द्रीय निर्वाचन आयोगको व्यवस्था छैन । एउटा निर्वाचन आयोग केन्द्रमा छ तर त्यसले राष्ट्रपति पदका उम्मेदवारहरूको निर्वाचन खर्चको अनुगमन गर्ने काम मात्र गर्दछ ।

निर्वाचन कार्यको संचालन र रेखदेखको काम राज्य अर्थात् प्रदेश सरकार (गभर्नर) मातहतका स्थानीय तहले गर्ने गर्दछन् । प्रदेशमा जुन पार्टीको सरकार हुन्छ, आफ्नो शासन अन्तर्गतको प्रदेशमा स्वाभाविक रूपमा निर्वाचनमा त्यसको प्रभाव रहने गर्दछ ।

अमेरिकामा नेपालमा जस्तो केन्द्रीयस्तरको निर्वाचन आयोगले जस्तो मतदाता नामावली तयार गर्ने कुनै निकाय छैन । मतदाता नामावली सङ्कलन, दर्ता र व्यवस्थापनको कार्य पनि स्थानीय तहबाट नै हुन्छ । कसैलाई मतदाता बनाउने वा नबनाउने निर्णय स्थानीय तहले नै गर्दछ ।

प्रदेश वा राज्यको नियमअनुसार स्थानीय तहले मतदाता नामावली दर्ताको प्रक्रिया आफैँले निर्णय गर्दछ । मतदाता दर्ता गर्ने जहिले पनि हुन सक्दछ, चुनावकै दिन पनि कोही मतदाता बन्न सक्दछन् । चुनावकै क्षण कोही मतदान केन्द्रमा गयो भने निर्वाचन अधिकृतले स्वविवेकीय आधारमा कसैलाई अस्थायी मतदाता परिचयपत्र दिन र मतदाता सूची बनाएर मतदान गराउन सक्दछ ।

अमेरिकाभर एकै नासको मत पत्र हुँदैन । कहीँ मतपत्रद्वारा नै मतदान हुन्छ र कहीँ इलोक्ट्रेनिक वा विद्युतीय मेसिनबाट मतदान हुने व्यवस्था छ । एकै दिन निर्वाचन नहुन पनि सक्दछ । मतदानको लागि तोकिएको दिनभन्दा अघि नै पनि मतदान गराइन सक्छ र उक्त दिन पछि पनि ।

जस्तो, मिनेसोता राज्यले मतदानको लागि निर्धारित दिन भन्दा ४६ दिनअघि नै निर्वाचन गरायो तर नर्थ क्यारोलिनाले मतदानको दिन भन्दा नौ दिनपछिसम्म मतदान गराउन सक्ने व्यवस्था गरेको छ ।

अमेरिकामा मतदानको दिनभन्दा कयौँ दिनअघि नै हुलाकबाट मतदान गर्ने प्रयोजनको लागि मतपत्र दिइएको थियो । कुनै स्वार्थ समूहले त्यस्ता मतपत्रहरू खोस्न,, चोर्न वा किनवेच गर्न पनि सक्दछ ।

हुलाकबाट आएका मतपत्रहरूलाई हचुवा आधारमा स्वीकार वा अस्वीकार गर्न सकिन्छ । मतपत्र राखिएको खाम कसरी बन्द गर्ने भन्ने सवाललाई पछि आधार बनाएर रद्द गर्न सकिन्छ र गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २०, २०७७