विदेश समाचार हेडलाईन न्युज

अमेरिकी राष्ट्रिपति निर्वाचन : हार्ने निश्चित भएपछि अदालत गए ट्रम्प

सुनकोशी न्युज
२०७७ कार्तिक २० गते विहिबार
काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन ‘जित नजिक पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल भोट पाएका छन् ।

उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए ।

अब मतगणनाको नतिजा आउन बाँकी रहेका ६ राज्यमध्ये बाइडन एरिजोना र नोभाडामा अगाडि छन् । बाइडनले आफूले अहिले अग्रता लिएका दुई राज्यमा मात्र जित हात पारेको खण्डमा त्यो उनलाई ४६ औं राष्ट्रपति बनाउन पर्याप्त हुनेछ ।

यद्यपि यी दुवै राज्यमा बाइडन र ट्रम्पको ठूलो अन्तर भने छैन । यस्तोमा नतिजा जसको पक्षमा पनि जान सक्छ ।

ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल कलेज भोट पाएका छन् । तर, उनी पेन्सिल्भेनिया, जर्जिया र नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यमा अगाडि छन् । तर, पेन्सिल्भेनियामा गणना गर्न बाँकी रहेका मेलबाट गरिएको मत डेमोक्रेटिक पार्टीका उम्मेदवारको खातामा जानसक्ने अपेक्षा गरिएको छ । पेन्सिल्भेनियाका अधिकारीहरुले शुक्रबारसम्म अधिकांश मतगणनाको काम सकिने बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया, पेन्सिल्भेनिया र मिशिगनमा अदालती प्रक्रिया सुरु गरेका छन् । उनले तत्काल मतगणना रोकिनुपर्ने माग गर्दै कानुनी प्रक्रिया सुरु गरेका हुन् ।

उनले यी राज्यको मतदानमा धाधली भएको बताएका छन् । यद्यपि उनले यस विषयमा कुनै प्रमाण भने पेश गरेका छैनन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि धाधली भएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २०, २०७७