शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

कुनै सरकारी अस्पतालले लिन नमानेपछि कोरोनाका बिरामी अलपत्र

सुनकोशी न्युज
२०७७ कार्तिक १६ गते आइतबार
काठमाण्डौं । होम आइसोलेशनमा बसेका कोरोना भाइरस संक्रमित भक्तपुर लोकन्थलीका एक ४३ वर्षे पुरुषलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शनिबार काठमाण्डौं र भक्तपुरका विभिन्न अस्पतालमा लगियो । तर कुनै पनि अस्पतालले उनलाई भर्ना लिन मानेनन् ।

सरकारले काठमाण्डौंका सबै अस्पताललाई कोरोना अस्पतालका रुपमा संचालन गर्न निर्देशन दिएको छ । तर सरकारी अस्पतालहरुले सरकारको निर्देशन अवज्ञा गर्दै कोरोना संक्रमित बिरामीलाई भर्ना लिन इन्कार गरिरहेका छन् ।

स्वास्थ्यमा गम्भीर समस्या आएपछि अस्पताल लगिएका ती पुरुषलाई राती अबेर बल्लतल्ल नयाँबानेश्वरको एभरेष्ट अस्पतालले भर्ना लिन मानेपछि ज्यान जोगिएको छ । अहिले उनको एभरेष्ट अस्पतालको आइसियमा सघन उपचार भइरहेको छ ।

ेकोरोना माहामारीमा सरकारले संक्रमितको उपचारमा चरम लापरवाही गरिरहेको चौतर्फि भएरहेका बेला सरकारी अस्पतालले बिरामी भर्ना नलिने, पहुँचवाला र सोर्सफोर्स लगाउन सक्नेको मात्रै भर्ना लिने परिपाटीका कारण सर्वसाधरणले उपचार नपाएरै मर्नुपर्ने परिस्थिति सृजना भएको छ ।

पछिल्लो समय संक्रमितको उपचारका लागि सरकारी अस्पतालले नै ५० हजार धरौटी र दैनिक १५ हजार खर्च व्यहोर्नु पर्ने सूचना जारी गरेपछि जनतामा झनै चिन्ता छाएको छ । अस्पतालको यस्तो सूचनापछि स्वास्थ्य मन्त्रालयले त्यसो नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । तर मन्त्रालयको निर्देशन अस्पतालहरुले पालना गरेका छैनन् ।

कोरोना माहामारीबाट जनतालाई बचाउन, उपचार गर्न र रोग नियन्त्रण गर्न भनेर कोरोना उपचार कोष खडा गरिएको छ । त्यो कोषमा सरकारले खरबौं पैसा राखेको छ । कर्मचारी, सांसद र मन्त्रीको भत्ता कटाएर कोषमा जम्मा गरिएको छ ।

गतवर्ष सांसद विकास कोषबाट तोकिएको शिर्षकमा खर्च हुन नसकेको करोडौं रकम पनि यही कोषमा जम्मा हुने नियम बनाइयो । गत आ.व. मा कुनै पनि शीर्षकमा रकमान्तर गरिएन । खर्च हुन नसकेको सबै शीर्षकका रकम कोरोना कोषमा स्वतः जम्मा हुने व्यवस्था भयो ।

यसरी अरबौं रकम कोरोना उपचार कोषमा जम्मा भएको छ । तर सरकार निर्लज्ज भएर जनतालाई कोरोना उपचार गर्ने भए सुरुमै ५० हजार धरौटी राख भनेर सूचना जारी गर्छ । यसले सरकार जनताको स्वास्थ्यप्रति संवेदनशील नभएको भन्ने जनतामा आभास भएको छ ।

आखिर कोरोना कोषमा यति धेरै रकम जम्मा भएको छ, त्यो रकम कहाँ के शिर्षकमा खर्च भयो र जनताबाट ढाडै सेकाउने गरी रकम असुल्ने काममा सरकार लागेको छ ? जनता प्रश्न गरिरहेका छन् ।

जनताको भावना बुझ्ने समस्या समाधान गर्ने कुरा वर्तमान सरकारले नजानेको जनगुनासो रहेको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक १६, २०७७