बागमती मुख्य समाचार समाचार हेडलाईन न्युज

यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण नटाँसे कारबाही गर्ने

सुनकोशी न्युज
२०७७ कर्तिक १५ गते शनिवार

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसे कारबाही गर्ने अभियान थालेकाे छ ।

सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस् भनेर अभियान थालिएको ट्राफिक महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबारदेखि अभियानकै रूपमा सवारीसाधनको चेकजाँच थालेको छ । यात्रुवाहक सवारीसाधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गरेको गुनासो आएपछि काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच सुरु गरिएको हो ।

सडक र सवारी प्रयोगकर्ताहरूलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक १५, २०७७