मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

कोरोना संक्रमितको उपचार सरकारले नगर्ने, ५० प्रतिशत बेड कोरोना संक्रमितका लागि

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
काठमाण्डौं । अबदेखि नेपालमा कोरोना भाइरसको पिसिआर परीक्षण र सबैखाले उपचार बिरामीले आफ्नै खर्चमा गर्नुपर्ने सरकारले बताएको छ ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस मिटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको बताएका हुन् ।

उपचार र परिक्षण सम्वन्धि यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ ।
त्यसैगरी, मन्त्रालयको आइतबार बसेको बैठकले आईसीयू पूर्वाधारसहित निजी, सहकारी, सरकारी र सामुदायिक अस्पताललाई कोरोनाका बिरामीका लागि ५० प्रतिशत बेड अनिवार्य छुट्याउन निर्देशन दिएको छ ।

यसअघि अस्पतालहरुलाई २० प्रतिशत र मेडिकल कलेजहरुलाई ३३ प्रतिशत बेड छुट्याउन भनेको थियो । तर अहिले संक्रमण तीब्र गतिले बढेका कारण सबै प्रकारका बेड ५० प्रतिशत छुट्याउन निर्देशित गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, कोरोना संक्रमितको डिस्चार्ज अवधि पनि घटाएको छ । अब पछिल्लो तीन दिनमा लक्षण देखिएको छैन भने १० दिनमा डिस्चार्ज गर्न भनेको छ । यसअघि १० दिनमा पीसीआर गर्ने र पोजेटिभ आए १४ दिनमा टेष्ट नगरी पठाउन भनिएको थियो ।

प्रकाशित मिति: आइतवार, कार्तिक २, २०७७