समाचार हेडलाईन न्युज

तत्काल काठमाण्डौं नछाड्न कर्णालीका नेतालाई निर्देशन

सुनकोशी न्युज
२०७७ कात्र्तिक १ गते शनिबार
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका नेताहरुलाई तत्काल काठमाडौ नछोड्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

पार्टीका अध्यक्ष समेत रहेका प्रधानन्त्री ओलीले कर्णाली बिहान बालुवाटारमा प्रदेश कमिटिमा आएको विवादबारे पदाधिकारीहरुको रिपोर्टिङ सुनेपछि यस्तो निर्देशन दिएका हुन् ।

‘भेटमा प्रम ओलीले ‘मैले तपाईहरुको कुरा सुनें, अब हामी दुई अध्यक्ष बसेर सल्लाह गरेर यो विषयमा निर्णय दिउँला ।’ भनेको कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्लले बताए ।

त्यस्तै ओलीले दुई अध्यक्ष बसेर छलफल नगर्दासम्म कसैले पनि काठमाडौँ नछोड्न निर्देशन दिएको उनले बताए ।

प्रम ओलीले शनिबार विहान मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह–इन्चार्ज एवं प्रदेश सभा सांसद यामलाल कँडेल, सह–इन्चार्ज एवं आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, केन्द्रीय सदस्य एवं सह–इन्चार्ज कालीबहादुर मल्ल तथा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, सासद चन्द्रबहादुर शाही र निलम्बित सचेतक गुलाबजंग शाहलाई भेटेका थिए ।

कर्णाली प्रदेशमा ओलीनिकट मानिएका प्रदेश सांसद यामलाल कँडेलको अगुवाईमा १८ जना सांसदले मुख्यमन्त्रीबिरुद्ध प्रदेश सदनमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि विवाद चर्किएको थियो ।

यसबीचमा मुख्यमन्त्रीले प्रमुख सचेतक फेरेका छन् भने सचेतक र केही मन्त्री पनि हेरफेर गर्ने तयारी गरेका थिए । सोही समस्या समाधानका लागि भन्दै अध्यक्षद्वयले कर्णालीका नेता र मन्त्रीहरुलाई काठमाण्डौं बोलाएका थिए ।

 

प्रकाशित मिति: शनिबार, कार्तिक १, २०७७