अन्तर्वार्ता/विचार

वामदेवका माखेदाउ

सुनकोशी न्यूज, २०७६ श्रावण २१
माओवादी र एमाले एकताका क्रममा जनताको जनवाद पार्टीको तत्कालिन मार्ग निर्देशक सिद्धान्त हुने सहमति भएको थियो । सोही अनुसार गत पुसमा बसेको नेकपा स्थायी समिति बैठकले उक्त दस्तावेज पारित गरेको हो । त्यसमा सामान्य हेरफेर गरेर दस्तावेज प्रकाशन गर्ने जिम्मा सचिवालयलाई थियो । नौ सदस्यीय सचिवालयमा दस्तावेजबारे नेताहरूबीच कुरा मिलेन । दस्तावेज छापिएन, त्यसै थन्कियो ।
यो बीचमा दस्ताबेजलाई प्रभावमा पार्न सचिवालय सदस्य ईश्वर पोखरेले आफ्नो गुट राम्रै परिचालन गरेको, उनी आफैं पनि जबजको पक्षमा खुलेरै वक्तव्यबाजी गरेको देखियो । पार्टी एकताताका नै जनताको जनवादमा सहमति भैसकेकोले यसमा धेरै प्रतिवाद गर्नमा माओवादीहरुले खासै चासो देखाएको पाइएन । पछिल्लो समय दुई अक्ष्यक्षबीच लगभग दुई हप्ता वान बाइ वान छलफल भएपछि बल्ल जनताको जनवाद नै तत्कालका लागि पार्टीको वैचारिक लाइन हुनेमा कुरा मिल्यो र साउन पहिलो साता नेकपाको राजनीतिक दस्तावेज छापियो ।
केपी ओली आफैं पनि जबज नै नेकपाको वैचारिक लाइन भएको कुरा दस्तावेजमा राख्न चाहन्थे । यो कुरा उनले विभिन्न सार्वजनिक कार्यक्रममा बताउने गरका थियो जसले पूर्वमाओवादी कार्यकर्तालाई चिढ्याएको थियो । दस्तावेज सार्वजनिक गर्ने निर्णय भएको दिन ओलीको अनुहारमा त्यो भाव स्पष्ट झल्किन्थ्यो । माधव नेपाल र झलनाथ खनालको धारणा यो विषयमा स्पष्ट भएको छैन । उनीहरु नयाँ परिवेशमा नयाँ ढंगको सिद्धान्तको विकास गरेर जानुपर्ने बताउने गरेका छन् । बामदेब गौतम जनातको जनवादको पक्षमा खुलेरै वकालत गर्ने नेतामा पर्छन् ।
नेकपा सचिवालयनिकट स्रोतका अनुसार जनताको बहुदलीय जनवादबिनाको राजनीतिक दस्तावेज छपाउने मन ओलीको थिएन, तर उहाँ बाध्यतामा पर्नुभएको बताइएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा राजनीतिक दस्तावेज सार्वजनिक भएको हो ।
एकीकरणपछि पहिलो पटक सार्वजनिक भएको पार्टीको नीति, सिद्धान्त र कार्यक्रमसहितको दस्तावेज आमकार्यकर्ताले पढिनसक्दै नेकपा सचिवालय सदस्य वामदेव गौतमले साउन २१ गतेको नयाँ पत्रिका दैनिकमा जबजको पक्षमा खुलेरै लेख लेखे ।
लेखमा उनले जनताको बहुदलीय जनवादलाई पार्टीको मुख्य सिद्धान्त बनाउनु पर्ने तर्क गरेका छन् । नयाँ पत्रिकामा छापिएको उनको सो लेख पढ्दा उनी केपी ओलीलाई खुसी पारेर केही हत्याउन चाहन्छन् भन्ने स्पष्ट देखिन्छ । केही समयपहिला कास्कीका दिवंगत सांसद रविन्द्र अधिकारीले चुनाव जितेको रिक्त सथनमा गौतमले चुनाव लढ्न इच्छा जाहेर गरेको समाचार प्रकाशित भएको थियो ।
एकीकरणको एक वर्षसम्म सचिवालयभित्रको सैद्धान्तिक बहसमा प्रचण्डनिकट मानिएका गौतमले पार्टी सिद्धान्तबारे अहिलेसम्म कतै पनि सार्वजनिक अभिव्यक्ति दिएका थिएनन् । उनले एकाएक बहुदलीय जनवादको पक्षमा लेख किन लेखे ? उनले अहिले नै आफ्नो कित्ताकाट गर्न किन हतार गरे ? उनको यो विचार ‘विचार’ मात्रै हो या राजनीतिक समिकरणमा कित्ताकाटको स्पष्ट संकेत ? नेकपा राजनीतिक वृत्तमा अहिले चर्चाको विषय हुने गरको छ । लेखमार्फत् बाहिर आएका वामदेवका विचारले मात्र होइन, उनका पछिल्ला व्यवहारले पनि केही संकेत गरिरहेका छन् ।
केही अघिसम्म वामदेव अध्यक्ष प्रचण्डको ‘कोर’ टिममा थिए । प्रचण्ड निवास खुमलटारमा उनको आउजाउ बाक्लो हुन्थ्यो । काठमाडौं (७) का सांसद रामवीर मानन्धरले वामदेवलाई आफ्नो सिट छाडिदिने कागतमा हस्ताक्षर खुमलटारमा प्रचण्डसामू नै गरेका थिए भन्ने चर्चा थियो । यसमा ओलीको असहमतिपछि वामदेवको सांसद बन्ने बाटो बन्द भएको थियो । यो घटनाले उनी ओलीसँग झनै रिसाए । माधव नेपाल र प्रचण्डलाई एकै ठाउँमा राखेर उनले ओलीलाई हटाउनु पर्ने प्रस्तावसम्म राखे भनिन्छ । तर उनको रुढी सुनुवाई भएन ।
पछिल्लो एक महिनायता वामदेवको खुमलटार यात्रा निकै पातलिएको छ । यही बेला उनको बालुवाटारको यात्रा भने बाक्लिँदो छ । ओलीले गौतमलाई बारम्बार बालुवाटारमा निम्तो दिइरहन्छन् । वामदेव पनि बालुवाटार गइरहन्छन् । दुई नेताबीच लामो भलाकुसारी चल्ने गरेको छ ।‘प्रधानमन्त्री ओलीले नै पहल गर्नुभएको हो,’ बालुवाटार स्रोतले सुनकोशीन्युजसँग भन्यो, ‘त्यसैले पछिल्लो समय वामदेव कमरेड खुमलटारतिर कम, बालुवाटारतिर धेरै आउन थाल्नुभएको हो ।’
पछिल्लो पटक बालुवाटार पनि वामदेवप्रति नरम देखिएको छ । सुरूमा गौतमलाई संगठन विभाग प्रमुख बनाउने प्रस्ताव प्रचण्ड र माधव नेपालले गरेका भए पनि प्रधानमन्त्री ओली सहमत भएपछि बल्ल कुरा मिलेको थियो । सुरुमा ओली त्यसमा सकारात्मक थिएनन् ।
वामदेवले लिखित रूपमै पार्टीको सिद्धान्त जबज हुनु पर्ने लेखेपछि खुमलटारमा पनि यसले चर्चा पाएको छ । कम्युनिष्ट पार्टीमा विचारको बहस हुनु त ठिकै हो तर उहाँले अहिले नै त्यसरी नलेखेको भए हुन्थ्यो,’ नेकपा अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो । पूर्वमाओवादी खेमालाई अझै पनि गुट परिवर्तन गरेर वामदेव प्रधानमन्त्री ओलीसँग गइहाल्छन् भन्नेमा पूरा विश्वास छैन । ‘वामदेव कमरेडले तत्कालै आफ्नो गुट परिवर्तन गर्नु हुन्न होला,’ एक नेताले भने । वामदेव ओलीतिर आइसक्नुभयो रे नि ? भन्ने प्रश्नमा उनीनिकट एक नेताको उत्तर भने रोचक छ । उनले भने, ‘उहाँको के कुरा ? हेर्नुहोला, महाधिवेशनसम्ममा नेकपाभित्र धेरै साटफेर हुन्छ !’
पार्टी एकताले पूर्णता पाइनसकेकोले अहिले नै नयाँ स्थायी गुटगत समिकरण बनिहाल्ने सम्भावना भने नभएको पार्टीका एक स्थायी समिति सदस्यले बताए । बरु पूर्वपार्टीमा पहिल्यै रहेका गुटहरु नै अहिले पनि शक्तिशाली रहेको उनको भनाई छ । यसो त बामदेव गौतमले आफ्नो स्वार्थसिद्धीको लागि कुनै पनि गुटमा छलाङ मार्नुलाई कसैले अनौठो नमाने हुने जानकारहरु बताउछन् ।

प्रकाशित मिति: मङ्लबार, साउन २१, २०७६